कोरोना भाइरसबाट सङक्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीको पाँचौँ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी उनीमा चैत १५ गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो।
“बुधबार पठाइएको स्वाबको नमूना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ, भोलि नै अर्को परीक्षणका लागि नमूना पठाउँछौँ”, धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने।
छैटौँ जाँचको रिपोर्ट पनि नेगेटिभ आए युवतीलाई अस्पतालबाट डिस्चार्ज गरिने जनाइएको छ। हाल उनी अस्पतालको आइसोलेसन कक्षमा चिकित्सकीय निगरानीमा छिन्। युवतीको स्वास्थ्य अवस्थामा भने सामान्य छ।
युवतीसँगै बेल्जियमबाट आउँदा सङ्क्रमित भएकी बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिला भने निको भएर केही दिनअघि घर फर्किसकेकी छिन् । नेपालमा कूल ४७ सङ्क्रमितमध्ये ९ जना कोरोनामुक्त भइसकेका छन्। रासस