नेपालमा थप १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत थप १ जनामा संक्रमण पुष्टि भएकाे जानकारी गराएकाे हाे।
राजधानीको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका २ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। बेलायतबाट आएका उनीहरुमा काेराना संक्रमण देखिएपछि बैसाख १ गते पाटन अस्पताल भर्ना गरिएकाे थियाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा सनसिटी अपार्टमेन्टका ५८ वर्षीय पुरुष र ८१ वर्षीया वृद्धा बिहीबार दिउँसो अस्पतालबाट डिस्चार्ज भएकाे जानकारी दिए।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफैले ल्याएको अध्यादेश फिर्ता लिने भएका छन्। पार्टी भित्रकै दबाबपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन लागेका हुन्। बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहासँगको भेटमा उनले अध्यादेशले नकारात्मक विवाद सिर्जना गरेको भन्दै आफू फिर्ता लिन तयार रहेकाे बताएका हुन्।
सरकारले दलविभाजन सम्बन्धि अध्यादेश ल्याएसँगै तरंगीत बनेकाे नेपाली राजनीति यतिबेला मधेशवादी दलमा केन्द्रित छ । अध्यादेशकाे आडमा लगभग फुटकाे संघारमा पुगेकाे समाजवादी पार्टीले मध्यरातमा राष्ट्रिय जनता पार्टीसँगकाे एकता प्रत्रिया टुंगे लगायाे । एकिकृत पार्टी जनता समाजवादी पार्टी आज विहानै निर्वाचन आयेगमा दर्ता समेत भयाे । तर तत्कालिन समाजवादी पार्टीका नेताहरुले सरकार पक्षधरले आफ्ना एकजना सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेकाे आराेप लगाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनताको त्याग र बलिदानीबाट प्राप्त लोकतन्त्रलाई कमजोर पार्ने खेलमा वर्तमान सरकार उद्दत भएको टिप्पणी गरेको छ । लोकतन्त्र दिवसको अवसरमा कांग्रेस सभापती शेरबहादुर देउवाले विहिबार विज्ञप्ती जारी गर्दै लोकतन्त्रमाथी भएको घृणित कार्यको सबैले भत्र्सना गर्नुपर्ने बताएका छन्।
“आमासँग अँगालो मारेर बेस्सरी रुन मन छ। दोस्रो जीवन पाएको अनुभव भइरहेको छ। डाक्टरले एक हप्ता अलग्गै बस्न भन्नुभएको छ, त्यसैले अस्पतालबाट डिस्चार्ज भएको दिन गनेर बसेको छु।” उनी रुञ्चे स्वरमा भनिरहहेका थिए। कोरोना भाइरस जितेर अस्पतालबाट घर फर्किने सुदूरपश्चिम प्रदेशका पहिलो व्यक्ति कैलालीका लम्किचुहा नगरपालिका –९ प्रतापपुरका राज विकलाई आज आमा खुवाउने मेसो पनि मिलेन।
बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव सहित ११ जना धरौटीमा छुटेका छन्। राहत बाढ्नका लागि कुहिएको दाल वितरण गरेको आरोपमा पक्राउ परेका यादवसहित ५ जना वडाध्यक्ष, दाल मिलका सञ्चालक,कर्मचारीहरु गरि ११ जना धरौटी तिरेर छुटेका हुन्।
सप्तरीमा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव भएको छ। जिल्लाको सप्तकोशी र कञ्चनरूपमा ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले किटको अभाव भएको हो। किट अभावमा होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण हुन सकिराखेको छैन। मागअनुसार किट प्राप्त नभएपछि उनीहरुको कोरोना परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
लकडाउन शुरु भएपछिको २९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैत ११ देखि यही वैशाख १० गतेसम्म ७७ हजार ५७८ मेट्रिक टन खाद्यान्न आयात भएको हो। सो समयमा २४ हजार २१८ मेटन दलहन, ४० हजार ९९ मेटन तरकारी, दश हजार ८१८ मेटन फलफूल र दश हजार ९९६ मेटन दुग्धजन्य पदार्थ आयात गरिएको छ। त्यस्तै रु ९७ करोड ६९ लाख ७६ हजार बराबरको तयारी औषधि र रु २१ करोड ९१ लाख १६ हजार बराबरको कच्चा पदार्थ आयात भएको छ।
कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ। यसबाट नेपालीले पनि राहत पाउन सक्ने छन्। दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तीय सरकारले वैवाहिक प्रवेशाज्ञा हुनेहरूलाई र सो प्रान्तमा स्थायी बसोबास गर्ने सबै विदेशीलाई सरकारी राहत उपलब्ध गराउने भएको हो।