लमजुङ– गोरखा भूकम्प गएको पाँच वर्षका अवधिमा करीब ६ हजार निजी आवास पुनःनिर्माण भएका छन्। जिल्लामा रहेका कुल लाभग्राही १३ हजार ७६४ मध्ये ६ हजार १७१ भूकम्पपीडितको घर पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्रििाधकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का जिल्ला सम्पर्क व्यक्ति विनय दवाडीले जानकारी दिए।
जिल्लामा लाभग्राही पहिचान भएका कुल संख्यामध्ये ५५२ जना जोखिमवर्गमा समावेश गरिएको प्राधिकरण एकाइ लमजुङका निमित्त प्रमुख जगदीश मिश्रले बताए।
प्रबलीकरणतर्फ मात्रै ६६३ लाभग्राही पहिचान भएकामा सम्झौता सम्पन्न ३२०, पहिलो किस्ता लिने लाभग्राही ३०६ र अन्तिम किस्ता लिने एक जना रहेको उहाँको भनाइ छ।
वन्य तस्करी रोक्न गस्ती
कोरोना भाइरस संक्रमणका बेला सरकारले लागू गरेको लकडाउनका बेला हुन सक्ने वनपैदावार र वन्यजन्तुको तस्करी रोक्न गस्ती शुरु गरिएको छ। जिल्ला डिभिजन वन कार्यालयको मातहतमा रहेका ६ वटै सब डिभिजन वन कार्यालयमार्फत जनशक्ति परिचालन गरी वनपैदावारको अवैध निकासी तथा वन्यजन्तुको चोरीशिकारी र तस्करी रोक्नका लागि गस्ती एवं अनुगमन शुरु गरिएको कार्यालय प्रमुख मोहन काफ्लेले बताए।
जिल्लामा ८५ हजार हेक्टर क्षेत्रफल वनजंगलमध्ये ६६ हजार हेक्टर वन कार्यालयको कार्यक्षेत्रमा पर्छ। यीमध्ये कार्यालयले ३३९ सामुदायिक वन अर्थात् २२ हजार हेक्टर क्षेत्रफल वन विभिन्न समुदायलाई हस्तान्तरण गरिसकेको छ।
कार्यालयका अनुसार जिल्ल्लाका राइनास, रम्घा, भोर्लेटार र सुन्दरबजार क्षेत्रमा काठ तस्करी हुन सक्ने सम्भावना बढी छ। त्यस्तै दूधपोखरी क्षेत्रमा वन्यजन्तुको शिकार तथा तस्करी हुने सक्ने सम्भावना छ। साथै लकडाउनका बेला विभिन्न वनजंगल क्षेत्रमा आगो लगाउन सक्ने भएकाले गस्ती तथा अनुगमन तीव्र बनाइएको कार्यालय प्रमुख काफ्लेले बताए।रासस