राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ल्याएका दुवै अध्यादेश खारेज गरेकी छिन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार राजनीतिक दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश खारेज गरेकी हुन्।
संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राष्ट्रपति भण्डारीले दुई अध्यादेश खारेज गरेकी हुन्।
सरकारले यही वैशाख ८ गते दल विभाजनलाई खुकुलो बनाउने र अध्यादेशमा प्रतिपक्षी दलको नेता नभए पनि संवैधानिक परिषद्को बैठक बसी निर्णय गर्न सक्ने प्रावधान सहितका दुई अध्यादेश ल्याएको थियो।
अध्यादेशकाे चौतर्फि आलोचनापछि शुक्रबार विहान बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। सोही अनुसार मन्त्रिपरिषदले सिफारिस गरेपछि अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।