काठमाडौं - निर्माण सामग्री ल्याउन नसकिएपछि काठमाडौं उपत्यकामा निर्माणाधीन धेरै सडक अलपत्र बनेका छन्। काठमाडौं उपत्यकामा व्यस्त सडकमा ‘लकडाउन’ को समयमा काम शुरु भए पनि केही दिनभन्दा अघि बढ्न सकेन। निर्माण सामग्री लिन ललितपुरको लेले र काभ्रेको रोशीखोला पुगेको गाडी सामान नलिई फर्किएको हो।
निर्माण सामग्री ल्याउन नदिइनुको कारणबारे ती पलिकासँग पत्र लेखेर सोधिएको डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले बताए। उनका अनुसार ती पालिकाले वडा कार्यालय र ती वडाका केही व्यक्तिका कारण निर्माण सामग्री लैजान समस्या आएको जानकारी दिएका थिए। उनले भने, “सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पनि हामीले कुराकानी गरिरहेका छौँ।”
कतिपय क्रसरमा स्टक नै ढुङ्गा गिट्टी रहेको र उत्पादनका लागि पनि धेरै जनशक्ति नलाग्ने प्रमुख नेपालीले बताए। त्यस्तै सामान ढुवानीका लागि पनि थोरै जनशक्ति भए पुग्ने उनले बताए। उनले भने, “चारपाँचजना व्यक्तिले ती स्थानबाट निर्माण सामग्री ल्याउन सक्छन्।” गत सातादेखि शुरु भएको सडक निर्माण केही दिनमा नै अवरुद्ध भएको हो।
त्रिपुरेश्वर, पुतलीसडक, गौशालालगायत स्थानका सडकमा आवधिक मर्मत र ह्युमपाइप राख्ने काम शुरु भएको थियो। ह्युमपाइप राख्नका लागि खन्ने काम भने भइरहेको छ। काठमाडौंका विभिन्न स्थानमा गरी झण्डै १२ किलोमिटर सडकमा आवधिक मर्मत (ओभर ले) गर्न लागिएको थियो। रासस