प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्यादेश फिर्ता हुँदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति नहुने बताएको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको अपहरण शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलीमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन नमिल्ने बताएका हुन्।
यो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान हुनुपर्ने र यसमा जो कोहीको संलग्नता रहेपनि इमान्दारीपूर्वक कानुनी कारबाही हुनुपर्ने कांग्रेसले अपिल गरेको छ।
चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन सरकार बाध्य बनेको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै विज्ञप्तीमार्फत कंग्रेसले स्वदेश तथा विदेशमा विरोध प्रकट गर्ने युवा विद्यार्थी, पार्टीमा साथीहरु र अन्य दल तथा संचारमाध्यमलाई बधाई दिएका छन्। साथै सरकारको नियोजित नियत प्रकट भै सकेको स्थितिमा निरन्तर सतर्कता र एकताका लागि पनि कांग्रेसले अपिल गरेको छ।
यही वैशाख ८ गते सरकारले ल्याएको राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी दुवै अध्यादेश शुक्रबारको मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दुवै अध्यादेश आजै खारेज गरिसकेकी छिन्।