प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली , नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ। सोमबार जारी भएका दुई अध्यादेश खारेज भएपछि उनीहरुले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका हुन्।
पहिला प्रधानमन्त्री ओली र सभापति देउवाबिच छलफल भएको र पछि प्रचण्ड पनि वार्तामा सहभागि भएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार तीन नेताबीच पछिल्लो परिस्थिति र परस्पर समझदारीमा जोड दिँदै छलफल चलिरहेको छ।
यही वैशाख ८ गते सरकारले ल्याएको राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी दुवै अध्यादेश शुक्रबारको मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दुवै अध्यादेश आजै खारेज गरिसकेकी छिन्।
