दुई देशको सहमति अनुसार सीमा नजिक आआफ्ना देशका क्यारेन्टाइनमा रहेका अर्को देशका नागरिकलाई जिम्मा लगाउन थालिएको छ। झण्डै तीन साताको क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य चेक जाँच गरी सम्बन्धित देशलाई बुझाउन सुरु भएको हो। सुनौली नाकामा यस्तो कार्य सुरु भएको छ। यस्तो कार्य थाल्दै भारतले सीमा नजिक भारतीय क्षेत्रका क्यारेन्टाइनमा रहेका नेपालीमध्ये कैयौँलाई प्रक्रिया पु¥याएर नेपाललाई हस्तान्तरण गरेको छ। बाँकीलाई पनि क्रमशः बुझाउने जनाएको छ।
१२५ लाई नेपाल ल्याइयो
भैरहवा समाचारदाताका अनुसार भारतीय क्वारेन्टाइनमा रहेका नेपालीमध्ये १२५ लाई शुक्रबार नेपाल ल्याइएको छ। अपरान्ह भारतीय अधिकारीहरूले क्वारेन्टाइनमा बसेका नेपालीहरूलाई बेलहियामा नेपाल सरकारको जिम्मा लगाएका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भारतको क्वारेन्टाइनमा करिब ३०० जना नेपााली बसेको र उनीहरूमध्ये शुक्रबार १२५ जनालाई नेपाल ल्याइएको बताउनुभयो।
तीन साताको क्वारेन्टाइन बसाई पूरा गरेपछि उनीहरूलाई स्वास्थ्य चेकजाँच गरी नेपाल ल्याइएको हो। उनीहरूको ¥यापिड टेस्ट गरेपछि सम्बन्धित जिल्लामा पठाइने प्रमुख जिल्ला अधिकारी पन्थले बताउनुभयो। भारतले नौतनवाका विद्यालय र कलेजका तीनवटा अलग अलग स्थानका क्वारेन्टाइनमा नेपालीलाई राखेको थियो। रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेम थापाले क्वारेन्टाइनमा बसेका नेपालीको अवस्था सामान्य रहेको बताउनुभयो।
स्प्रे टनेल जडान
रुपन्देही समाचारदाताका अनुसार तिलोत्तमा नगरपालिको बुटवल–भैरहवा सडक खण्डस्थित योगीकुटी चोकमा अटोमेटिक सेनिटाइजर स्प्रे टनेल जडान गरिएको छ। लकडाउनको समयमा अत्यावश्यक सेवासँगै अन्य गाडीसमेत सडकमा सञ्चालन भइरहेकाले सेनिटाइज गर्ने गरी लेन सडकमै सेनिटाइजर स्प्रे टनेल जडान गरिएको हो।
शङ्करनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था योगीकुटीले बुटवलबाट तिलोत्तमा नगरपालिका प्रवेश गर्ने योगीकुटी चोकमै उक्त स्प्रे टनेल जडान गरेको हो। स्प्रे मेसिनमा जडान गरिएको सेन्सरले सडकमा गाडी आएको थाहा पाउने र मेसिनमार्फत अटोमेटिक स्प्रे हुने संस्थाका कार्यालय प्रमुख इन्जिनियर दीपक पाण्डेले जानकारी दिनुभयो।
बैठक भत्ता कोषमा
तानसेन समाचारदाताका अनुसार स्थानीय तहका जनप्रतिनिधिले बैठक भत्ताबापतको रकम कोरोना राहत कोषमा सङ्कलन गरिरहेका छन्। तानसेन नगरपालिका, बगनासकाली र रिब्दीकोट गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ताबापत पाउने रकम कोरोना राहत कोषमा सङ्कलन गरेका हुन्। तानसेन नगरपालिकाका जनप्रतिनिधिहरूले पाँचवटा बैठकको भत्ता राहत कोषमा सङ्कलन गरेको नगरपालिकाले जनाएको छ।
घरघरमै सुरक्षा भत्ता
तम्घास समाचारदाताका अनुसार गुल्मीको मालिका गाउँपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। लकडाउनका कारण वृद्धवृद्धाहरू बैङ्कसम्म जानसक्ने अवस्था नभएका कारण घरमै गएर सामाजिक दूरी कायम गरी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिनुभयो।
यात्रुलाई सडकमै खाना
देउखुरी समाचारदाताका अनुसार लकडाउन लम्बिँदै गएपपछि काठमाडौँमा ज्याला मजदुरी गर्ने मानिसहरू घर फर्कन थालेका हुन्।
यस्ता यात्रु र पैदल यात्रुलाई लक्षित गरेर दाङको लमही नगरपालिका वडा नम्बर १ डोँडहीका स्थानीयले सडकमै खाना पकाएर खुवाउन थालेका छन्। स्थानीय चिरञ्जीवी आचार्यका अनुसार स्थानीयहरूले स्वस्फूर्त रूपमा खाद्यान्न सङ्कलन गरेर सडकमै भान्छा सञ्चालन गरेका हुन्। यस्तै पतञ्जली योग समिति लमही नगरपालिकाले पनि लमहीको बसपार्कमा खानाको व्यवस्था गरेको छ।
दस लाखका सामग्री सहयोग
प्युठान समाचारदाताका अनुसार नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सचिवालय सदस्य बामदेव गौतमले जिल्लाका स्थानीय तहलाई कोरोना सङ्क्रमणविरुद्ध प्रयोग हुने सुरक्षित सामग्री उपलब्ध गराउनुभएको छ। उहाँले आफ्नो गृह जिल्लामा दस लाख रुपियाँ बराबरको सहयोग सामग्री उपलब्ध गराउनुभएको स्वकीय सचिव विजयविराज विष्टले जानकारी दिनुभयो। सुरक्षित सामग्रीमा पीपीई सेट, सेनिटाइजर, माक्स, ग्लोब्स, हेड क्याप रहेका छन्।
सर्जिकलमा बढी मूल्य
बाँके समाचारदाताका अनुसार लकडाउनका समयमा सर्जिकल सामान बढी मूल्यमा बिक्री भएको पाइएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बजार अनुगमनका क्रममा बढी मूल्य लिने मेडिकल फर्मलाई जरिवाना गराएको छ। वाणिज्य कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पौडेलले चैत ९ गते यता बजार अनुगमनका क्रममा १० वटा फर्म र पसल कारबाही गरेको जानकारी दिनुभयो।
नयाँ पीसीआर मेसिन सञ्चालन
भैरहवा समाचारदाताका अनुसार भैरहवामा ल्याइएको नयाँ आरटी पीसीआर मेसिन सञ्चालनमा आएको छ। मेसिनलाई चाहिने सामग्री र सेटिङ गर्ने इन्जिनियर काठमाडौँबाट आएसँगै सञ्चालनमा आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। नयाँ मेसिन सञ्चालनमा आएपछि अब दैनिक ७० देखि ९० वटासम्म नमुना परीक्षण गर्न सकिने पनि छ।
क्वारेन्टाइनमै मदिरा सेवन गरी कुटपिट
तम्घास समाचारदाताका अनुसार गुल्मीमा क्वारेन्टाइनमै मदिरा बिक्री भएको खुलेको छ। इश्मा गाउँपालिका वडा नं २ को पालुखा माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा बसेकालाई नजिकैको पसल सञ्चालकले मदिरा पु¥याइदिने गरेको खुलेको गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले बताउनुभयो। उहाँका अनुसार क्वारेन्टाइनमा बसेका अमरपुरका २४ वर्षीय गोपाल गिरीले मदिरा सेवन गरी आफूसँगै बसेकी श्रीमती २० वर्षीया पुष्पा गिरीलाई कुटपिट गरेको र बारबार तनाव दिने गरेका हुन् । गिरीलाई गाउँपालिकाको नियमअनुसार पाँच हजार जरिवाना तिराइएको इश्मा प्रहरी चौकीले जनाएको छ। याे समाचार आजको गोरखा पत्र दैनीकमा छ।