डोटी– डोटीमा अहिलेसम्म एक हजार ९ सय ९० जनामा कोरोना परीक्षण गरिएको छ। कोरोना परीक्षणपश्चात् सबैको रिपोर्ट नेगेटिभ आएको छ। हालसम्म ३सय ३७ पिसिआर र एक हजार ६सय ५३ र्यापिड डायग्नोष्टिक टेस्ट–आरडिटी गरी कुल एक हजार ९९० जना स्थानीयवासीको कोरोना परीक्षण गरिएको हो।
पिसिआर र र्यापिड डायग्नोष्टिक टेष्ट–आरडिटी परीक्षण गरिएका हालसम्मका सबै नागरिकको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। जिल्लामा शुक्रबार पनि ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण भए–नभएको बारे जानकारी लिन र्यापिड डायग्नोष्टिक टेष्ट–आरडिटी विधिबाट परीक्षण गरिएको छ।
जिल्लाको पूर्वीचौकी गाउँपालिकामा १७, बडीकेदारमा तीन, जोरायल गाउँपालिकामा दुई, सायल गाउँपालिकामा १६ र शैलेश्वरी अस्पताल दिपायलमा एकजना गरी कुल ३९ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट–आरडिटी विधिबाट कोरोनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्य विष्टले जानकारी दिएका छन्। उनको अनुसार पाँच महिला र ३४ पुरुष गरी कुल ३९ जनाको कोरोना परीक्षण गरिएको हो। रासस