दाङ– वैदेशिक रोजगारीबाट फर्किएका तुलसीपुर उपमहानगरपालिका – ६ का ३२ वर्षीय ईश्वरी गैरे दुई हप्तासम्म क्वारेन्टाइनमा बसे। उनलाई स्वाब परीक्षणका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगियो। संयुक्त अरब इमिरेट्सबाट फर्किनुभएका गैरेलाई कोभिड–१९ रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरियो।
त्यसबीचमा आइसोलेशन र क्वारेन्टाइनमा बस्दा सुरक्षित महसुस गरेको गैरेले राससलाई प्रतिक्रिया दिए। “म दुई हप्ता क्वारेन्टाइनमा, दुई दिन बेलझुण्डी अस्पतालमा बस्दा सुरक्षित महसुस भयो।” कोरोना रिपोर्ट नेगेटिभ खुशी हुनुभएका गैरे आइसोलेशन र क्वारेन्टाइनको सेवाबाट सन्तुष्ट भएको बताउछन्। आइसोलेशन र क्वारेन्टाइनमा साँझबिहान दुईपटक खाना र दिउँसो खाजा दिइन्थ्यो।
युएइको होटलमा चौकीदार गैरे विदेशमा कोरोना भाइरसको त्रास भएपछि स्वदेश फर्किएका छन्। गत वर्ष मात्रै रोजगारीका सिलसिलामा गरेका गैरे चैत ९ गते घर फर्किएको। घर फर्किएपछि उनी दुई दिन होम क्वारेन्टाइनमा बसेर तुलसीपुरको क्वारेन्टाइनमा गए। दुई हप्तासम्म क्वारेन्टाइनमा बसेपछि उनलाई स्वाब परीक्षणका लागि बेलझुण्डीको कोरोना अस्पतालमा लगिएको थियो।
अस्पताल गएको तीन दिनमा चैत २९ गते उनको रिपोर्ट आएको थियो। जहाजमा सेनिटाइजर र मास्कको प्रयोग गरेर यात्रा गरेको भए पनि संक्रमणको त्रासले स्वाब परीक्षणका लागि अस्पताल गएका उनले भने, “यदि म संक्रमित भएर आएको भए मेरै कारणले धेरै संक्रमित हुन्थे, त्यसैले म आफैँ सावधानी अपनाएर स्वाब परीक्षण गराउन गएँ, अहिले ढुक्क भएको छु।”
युएईको दुबईबाट आउनुभएका तुलसीपुर– ५ का २३ वर्षीय नरेश विक पनि रक्षाचौर क्वारेन्टाइनमा बस्दा कुनै असहज नभएको बताउछन्। समयसमयमा स्वास्थ्यकर्मीले निगरानी गर्ने र इन्टरनेट सेवाको सुविधा हुँदा दिन कटाउन सहज भएको उनको भनाइ छ। “समय–समयमा स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्नुहुन्थ्यो, खाना, खाजा पनि समयमै आउँथ्यो, त्यहाँ बस्दासम्म कुनै असहज महसुस भएन”, उनले भने।
स्वास्थ्यकर्मी, चिकित्सक तथा खाना पकाउनेदेखि पु(याउन आउनेहरुको व्यवहारले आत्मबल बढाएको उहाँले अनुभव सुनाए। स्वाब परीक्षणका लागि क्वारेन्टाइनबाट कोरोना अस्पताल बेलझुण्डी लगिएकामा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको छ।
तीन वर्षदेखि दुबईमा काम गर्दै आएका विक गत चैत ६ गते नेपाल एयरलाइन्सको जहाजमा काठमाडौं आएका थिए। त्यहाँ कोरोनाको त्रास बढ्न थालेपछि तीन महिनाको छुट्टी लिएर घरमा आएको उनले बताए। अब स्वदेशमै आयमूलक काम गर्ने उनको सोच छ। अहिले विश्वभरि कोरोना संक्रमण बढिरहेकाले भारतलगायत तेस्रो मुलुकबाट स्वदेश फर्किने नागरिक क्वारेन्टाइनमै बस्नुपर्ने उनको भनाइ छ।
अहिले जिल्लामा ७१ जनाको स्वाब परीक्षण गरिएको छ। बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा ६१ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको स्वाब परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति कमल चन्दले बताए। उनीहरु सबैलाई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ।
जिल्लामा कोरोना अस्पताल बेलझुण्डी र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा कोरोनाको आशङ्का लागेका बिरामीलाई आइसोलेशनमा राखेर उपचार गरिएको छ।
यसैबीच दाङका स्थानीय तहले सञ्चालन गरेका क्वारेनटाइनमा आज १०३ जना रहेको सम्बन्धित पालिकाले जनाएका छन्। अहिलेसम्म ती पालिकाको एकान्तबासमा बस्दै आएका ७८ जनाको (यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको छ। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ।
यहाँका स्थानीय तहले भारत तथा विदेशबाट आएकाहरुलाई राख्न ३३८ शय्याका व्यवस्थित क्वारेन्टाइन केन्द्र निर्माण गरेका छन। जिल्ला आपत्कालीन दाङको तथ्याङ्ककानुसार चैत शुरु भएदेखि हालसम्म तीन हजार ६३२ जना भारतलगायत अन्य मुलुकबाट भित्रिएका छन्। रासस