काठमाडाैं - नेपालमा अहिलेसम्म पिसिआर र र्यापिड टेस्टबाट कुल ४९ हजार ३ सय ३६ जनाको नमुना परिक्षण भएको छ भने दुइ सय ९० जना रेड जाेनमा रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर विधिबाट ९ हजार ६ सय ६६ तथा र्यापिड टेस्टबाट ३९ हजार ६ सय ७० जनाको नमुना परिक्षण भएका छन्।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म देशभर कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या ४९ हजार ३ सय ३६ पुगेकाे छ भने पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ जनाको नमूना परीक्षण भएको बताएका छन्।
त्यसैगरि क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा औलोकाे रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएकाे छ। यद्यपि कहाँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो भन्ने मन्त्रालयले खुलाएका छैन।
मन्त्रालयकाे तथ्याङ्क अनुसार नेपालमा आज सम्म ४९ जना संक्रमित रहेका छन् । जस मध्ये १२ जना निको भएका छन् भने ३७ जना देशका विभिन्न जिल्लाहरुमा उपचारको क्रममा रहेका छन्।
हाल नेपालमा १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् भने काठमाडौं उपत्यकामा ३ र बाहिर ८४ गरी कुल ८७ जना आइसोलेसनमा छन्।आज शनिबार कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण नभेटिएको मन्त्रालयले जनाएकाे छ।
त्यस्तै संक्रमित मध्ये सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्।