जाजरकोट- कोरोना भाइरसबाट जोगिन र जोगाउनका लागि रुकुमपश्चिमका दुई नगरपालिकाले आफ्नै क्वारेन्टाइन तथा आइसोलेसनको भवन निर्माण सम्पन्न गरेका छन्। आठविसकोट नगरपालिकाले रु ७० लाख बराबरको खर्चमा १२ शैंयाको क्वारेन्टाइन निर्माण गरेको निर्मित प्रमुख प्रशासकीय प्रमुख ध्रुवप्रसाद लम्सालले जानकारी दिए।
तत्काल क्वारेन्टाइनकारूपमा प्रयोग गरे पनि पछि यसलाई नगरअस्पताललाई हस्तान्तरण गर्ने उद्देश्य रहेको उनको भनाइ छ। क्वारेन्टाइन निर्माणका लागि विभिन्न निजी क्षेत्रहरूले व्यापक सहयोग गरेको उनको भनाइ छ। दश दिनभित्र निर्माण सम्पन्न गर्ने उद्देश्यसहित निर्माण थालिएको क्वारेन्टाइनको काम सम्पन्न भएको हो। निर्माण सकिएको भए पनि भित्र वार्डमा अन्य कुरा मिलाउन बाँकी रहेको उनको जानकारी दिए।
कर्णाली प्रदेश सरकारले गत चैत १३ गते चौरजहारी अस्पतालमा आइसोलेसन वार्ड बनाउने निर्णय गरेलगत्तै काममा जुटेको अस्पतालले अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न गरेको बताएको छ। प्रदेश सरकारले त्यसका लागि रु ५० लाख बजेट अस्पताललाई निकासा गरेको थियो। भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले कर्णाली प्रदेशका तीन आइसोलेसन वार्डमध्ये चौरजहारी अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा बिरामी भर्ना गर्ने गरी निर्माण गरिएको जानकारी दिए।
चौरजहारी अस्पतालले ५० शैंयाको आइसोलेसन अस्पताल निर्माणकार्य अन्तिम चरणमा पुगेको अस्पतालका प्रशासक दिलबहादुर गिरीले जानकारी दिए। उनका अनुसार शीतल मावि चौरजहारीको एउटा भवनमा २० श्यया, चौरजहारी अस्पतालभित्रै चार शैंया तयार छन्। अस्पताल परिसरमा अरु २० श्ययाको अन्तिम काम हुँदैछ। दश दिनमा सक्नेगरी शुरु भएको उक्त वार्डको अन्तिम काम भइरहेको प्रशासक गिरीले बताए।
त्यस्तै शीतल माविको आइसोलेसन वार्ड सञ्चालनमा आइसकेको छ। अस्पतालले उपचार, खानपिनदेखि अरु सम्पूर्ण व्यवस्थापनसमेत सोही ठाउँबाट मिलाएको उनको भनाइ छ। यहाँ शङ्कास्पद, सङ्क्रमण भएका तर लक्षण नदेखिएका तथा आफैँ औषधि खान सक्ने, हिँडडुल गर्न सक्नेलाई राखिनेछ। अबको केही दिनमा तयार हुने वार्डमा भने सलाइन चढाउनुपर्ने, सामान्य खालको अक्सिजन दिनुपर्ने र हिँडडुलमा समस्या हुनेलाई राख्ने तयारी गरिएको छ। अस्पतालभित्रको वार्डमा गम्भीर अवस्थाका बिरामीलाई राखिनेछ। उक्त वार्ड २४सै घण्टा चिकित्सकको रेखदेखमा हुनेछ।
त्यसपछि पनि बिरामीको अवस्था गम्भीर भए र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा मात्रै बिरामी सिफारिस गर्ने गरी अस्पतालले व्यवस्थापन गरेको छ। कर्णाली प्रदेश सरकारको निर्णय र निर्देशनअनुसार कामको गति बढाएको गिरीले बताए। प्रशासक गिरीले भने, “अस्पतालभित्र आइसोलेसन वार्ड थप व्यवस्थित बनाइएको छ। चार बिरामी भर्ना गरिने उक्त वार्डका लागि एउटा भवन तयार छ। बिरामी भर्ना गर्ने कोठासहित नर्सिङ स्टेशन, स्वास्थ्यकर्मी बस्ने कोठा र उपचारमा संलग्न, चिकित्सक, स्टाफ नर्स, सहयोगी सबैको क्वारेन्टाइनसमेत सोही भवनमा बनाइएका छौँ।”
कामको गति निकै बढाएको छ र सरोकारवालासँगको छलफललाई समेत व्यापक बनाएको भन्दै उनले भने, “तल्लो तलामा उपचारकक्ष, स्वास्थ्यकर्मीको निवास बनाइएको छ भने माथिल्लो तला निश्चित दिन बिरामीको उपचारपछि क्वारेन्टाइनका लागि तयार पारिएको छ। चार मेडिकल टिमले बिरामीको उपचार गर्ने र पालैपालो क्वारेन्टाइनमा बस्नेछन्।”
त्यस्तै जाजरकोट स्वास्थ्य सेवा कार्यालयले ३० वार्डको आईसोलेसनसमेत तयार पारिएको छ। डोल्पा स्वास्थ्य सेवा कार्यालयले १२ शैंयाको आइसोलेसन तयार भएको बाँकी अरु पनि आवश्यकताका आधारमा थप्न सकिन स्वास्थ्य सेवा प्रमुख सिजन रावलले जानकारी दिए। सबै ठाउँमा कर्णाली प्रदेश सरकारले बजेट निकासा गरिसकेको छ। रासस