महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद अपहरण सम्बन्धी मुद्दा दर्ता गर्न आनाकानी गरेको जनता समाजवादी पार्टी (जसपा) का नेताहरुले बताएका छन्। डा. बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतका जसपाका नेताहरु आइतबार पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध अपहरणको मुद्दा दर्ता गर्न प्रहरी परिसर काठमाडौं पुगेका थिए।
अपहरणमा परेकाे भनिएका सांसद डा. सुरेन्द्र यादव पनि प्रहरी कार्यालयमा छन्। डीएसपी कृष्ण चन्दले मुद्दा दर्ता गर्न आनाकानी गरेको जसपाका एकजना नेताले बताए । प्रहरीले यहाँ मिल्दैन, महोत्तरी जानोस् भनेर जवाफ दिएको उनले सुनाए। उजुरीका सम्बन्धमा जसपाका नेता र प्रहरी अधिकारीबीच छलफल जारी रहेको छ।
आफ्ना पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको भन्दै जसपाका नेताहरु आइतबार उजुरी दिन परिसर पुगेका हुन्।
सरकारी शक्तिकाे आडमा आफ्ना सांसद यादवलाइ गत बुधबार महोत्तरीस्थित घरबाटै अपहरण गरि काठमाडौं ल्याइएकाे जनता समाजवादी पार्टीले आराेप लगाउँदै आएकाे । यता पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) खनाल लगायतका आराेपितहरुले भने सांसद यादव आफ्नै खुसीले काठमाडाैं आएकाे दावी गर्दै आएका छन् ।