काठमाडाैं- सरकारले कोरोनाभाइरस अर्थात कोभिड-१९ को संक्रमितलाई ट्रेसिङ्ग गर्न छुट्टै आधिकारिक एप सञ्चालनमा ल्याउने भएको छ। गत चैत्र २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा विशेष सम्बोधन गर्दै कोरोनाभाइरसको संक्रमितहरुको पहिचान गर्न एउटा ट्रेसिङ्ग एप बनाउने बताएका थिए। सोहिअनुसार अहिले सो नयाँ एप तयार पारिएको हो।
कोभिड एनपी (Covid Np) नाम दिइएको यो एप संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले तयार पारेको हाे। यसमा कोभिड-१९ सम्बन्धी सम्पूर्ण सत्य तथ्य जानकारीहरु समावेश गर्ने सरकारको योजना छ। साथै यो एपमा कोभिड-१९ सम्बन्धि नेपाल लगायत विश्वभरिको पछिल्लो अवस्था तथा तथ्याङ्क पनि पाउन सकिने जनाएको छ।
प्रधानमन्त्री ओलीका आईटी विज्ञ अस्गर अलीले यो एप सम्बन्धी सबै काम सकिएको र यसलाई गूगल प्ले स्टोरमा राख्ने काम समेत सम्पन्न भइसकेको बताएका छन्। आईटी विज्ञ अलीका अनुसार यो एपलाई थप परिस्कृत गरी केही दिन भित्रमा प्रधानमन्त्रीबाट औपचारिक रुपमा सार्वजनिक गरिने छ।
हाल गूगल प्ले स्टोरमा उपलब्ध रहेको यो एप सजिलै डाउनलोड गरि आफ्नो फोनमा इन्स्टल गर्न सकिन्छ। यसको साइज मात्र ५.६ एमबी रहेको छ। हालसम्म १०० भन्दा बढि पटक इन्स्टल भएको छ।
एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्।