संखुवासभा - सङ्खुवासभाको मकालु हिमाल ट्रेकिङका लागि आएर अलपत्र परेका २५ जनालाई रसुवाको कालिका गाउँपालिकाले उद्धार गरेको छ। उनीहरु विदेशी पर्यटकको भरियाका रुपमा सङखुवासभा आइपुगेका थिए।
उनीहरुलाई खाँदबारीमै अलपत्र परेका बेला आइतबार उद्दार गरिएको हो। उनीहरु विदेशी पर्यटकको सामान बोकेर बन्दाबन्दी शुरु हुनुको अघिल्लो दिन भोटखोला गाउँपालिकाको हटिया पुगेका थिए। त्यहाँ छ दिन अपलत्र परेपछि भोटखोला गाउँपालिकाले अनुमति दिएर सदरमुकाम खाँदबारी पठाएको सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकाका लोप्लाङ शेर्पाले जानकारी दिए।
उनीहरु भोटखोलाबाट खाँदबारी आएपछि २६ दिन अन्नपूर्ण होटल, खुम्बुमा बास बसेको शेर्पाले बताए। मकालु हिमाल ट्रेकिङका लागि चैनपुरको गुफाखोखरी हुँदै आएका विदेशी पर्यटक भने सभापोखरी गाउँपालिकामा आइपुगेर रोकिएपछि आफू हटियाबाट फर्किएको शेर्पाले बताए। विदेशी पर्यटकहरु केही दिन अघि कैलाश एयरको हेलिकप्टरबाट फर्किएका थिए। रासस