काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरविरोधले चर्को रुप लिएको छ। पार्टीका दुवै अध्यक्षले आफ्नो गुट बलियो बनाउने कसरतमा सोमबार दिनभरी नै नेताहरुसँगको छलफल तिब्र पारेका छन्। प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सोमबार विहान वरिष्ठ नेता माधव कुमार नेपालसँग तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता झलनाथ खनालसँग छुट्टाछुट्टै छलफल गरेका छन्।
प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई बालुवाटार निवासमा बोलाएका थिए भने अर्का अध्यक्ष प्रचण्ड भेट्न वरिष्ठ नेता खनाल खुमलटार पुगेका थिए ।
प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालविचको छलफलपछि दुवै नेता पक्षधर नेताहरुविच सोमबार लामो समय छलफल चल्याे। पार्टीभित्र आफ्नो शक्ति कमजोर हुन थालेपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँगको निकटता बढाउन छलफल शुरु गरेका हुन्। यसअघि सार्वजनिक रुपमै एकअर्काको विरोधमा उत्रिएका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालविचको सम्बन्ध नराम्रोसँग विग्रिएको थियो।
अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल निकटका नेताहरुविच आज दिनभर चलेको छलफलले मंगलबार सचिवालय बैठक बोलाउने निश्कर्ष निकालेको छ। अर्का अध्यक्ष प्रचण्ड पक्षधर नेताहरुले सरकारको समिक्षा आवस्यक भएको भन्दै स्थायी कमिटी बैठक बोलाउन पार्टी अध्यक्ष ओलीलाई दवाब दिंदै आएका छन्। अध्यादेशका सम्बन्धमा पार्टीभित्रैबाट आलोचित भएपछि प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक बोलाउन आनाकानी गर्दै आएका छन्।
कोटेस्वरस्थित नेपाल निवासमा भएको छलफलमा प्रधानमन्त्री ओली पक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदिप ज्ञवाली सहभागि थिए भने नेपाल पक्षबाट भिम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागि थिए। छलफलमा नेपाल पक्षले स्थायी कमिटीको बैठक बोलाउन प्रस्ताव राखेपनि त्यसबारे सहमती जुट्न सकेको छैन। अब मंगलबार बस्ने सचिवालय बैठकले नै स्थायी कमिटी बैठक बोलाउनेबारे छलफल गर्ने नेपाल पक्षधर एक नेताले बताए।