कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जारी बन्दाबन्दीका कारण समस्याग्रस्त विपन्न वर्गलाई लक्षित गरी पौरखी युवा समूहद्वारा १० दिनसम्म सञ्चालित निशुल्क खाना वितरणबाट १६ हजार जना भन्दा बढी लाभान्वित भएका छन्। समूहले प्रत्येक दिन खाना तयारी गरी प्याकिङ गर्दै विभिन्न स्थानमा खानाको अभावमा भोका परेकालाई निः शुल्क खाना खुवाउँदै आएको थियो।
नौ जना युवा मिलेर आफ्नै खर्चमा यो सेवा गरिएको थियो। बन्दाबन्दीका कारण आफ्ना गाँउघर जान नपाएका विपन्न तथा सडकमै अलपत्र परेका र काम गर्न नपाएर भोका बनेका सर्वसाधारणलाई समूहले खाना खुवाउँदै आएको समूहका संयोजक जनक पराजुलीले बताएका छन्। खाना खुवाउनका लागि पोखरा महानगरपालिकाबाट वैशाख १५ गते सम्मका लागि अनुमति लिइएको र सोही अनुसार सोमबार साँझसम्म खाना खुवाइएको उनले जानकारी दिएका छन्।
समूहले १० दिनसम्म खाना खान नपाएका सर्वसाधारणको तथ्याङ्क सङ्कलन गरी स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा प्रहरीसँग समन्वय गरी खाना पु¥याउने गरिएको समूहका सदस्य विष्णुप्रसाद बरालले बताएका छन्। उनका अनुसार समूहका अन्य सदस्यमा जनक पराजुली, विष्णुप्रसाद पौडेल, राजु शर्मा तिमिल्सिना, भानुभक्त अधिकारी, विष्णु प्रसाद बराल, प्रजापति अधिकारी, शिव थापा, राजेन्द्र पौडेल र खेमराज तिमिल्सिना छन्। (रासस)