प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा अनुसार हाल प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्धयबिच छलफल जारी छ। उनीहरुले मंगलबार बस्ने भनिएको सचिवालय बैठकको बिषय कुराकानी गर्ने जनाइएको छ।
अध्यादेश फिर्ता लिइसक्दापनि विवाद साम्य नभएपछि आज सचिवालय बैठक बस्ने भनिएको थियो तर अहिलेसम्म पनि कुनबेला बस्ने वा बस्ने कि नबस्ने भन्ने बिषयको टुंगो भएको छैन। बैठकले ओलीको अधिकार कटौती गर्ने वा एकचोटीलाई माफि दिएर पार्टी र सरकारलाई अघि बढाउने भन्नेबारे छलफल हुने एक नेताले जानकारी दिए।
अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु बैठक बोलाउने पक्षमा छन् भने प्रधानमन्त्री ओलीले बैठक टार्न खोजेको नेताहरुको आरोप छ। यस्तै स्थायी कमिटीका २० नेताले लिखित रुपमा नै स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन्।