कोभिड–१९ रोकथामका लागि लकडाउन भएपछि काठमाडौंँ र आसपास क्षेत्रमा छरिएर रहेका स्थानीय नागरिकलाई धमाधम जिल्ला भित्र्याउने काम अगाडि बढेको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार सांसद मोहन आचार्यका साथै गोसाइँकुण्ड एवं कालिका गाउँपालिकाले बसको व्यवस्था गरी जिल्ला भित्र्याएका स्थानीय बासिन्दा ३१९ पुगेका छन्।
सोमबार साँझसम्म रसुवा प्रवेश गर्नेमा १६५ पुरूष र १५४ महिला छन्। उनीहरूलाई आआफ्ना गाउँघरको पायक पर्ने स्थानमा स्थापित क्वारेन्टाइनमा राखिएको बताइएको छ। सांसद आचार्यको व्यवस्थापनद्वारा बसबाट ल्याइएका स्थानीयवासीलाई बेत्रावतीबाट जिल्ला प्रवेश गराउनुपूर्व लगत तयार गरिनाका साथै पायक पर्ने क्वारेन्टाइन तोक्न रसुवाको प्रवेशद्वारमै केही घण्टा पर्खाउनुपरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
कोरोना भाइरस नियन्त्रणका लागि अपनाइएको सावधानीअनुरूप जिल्ला प्रवेश गरेका सबै स्थानीय नागरिकलाई बेत्रावतीबाटै सम्बन्धित गाउँपालिकाका पदाधिकारीमार्फत क्वारेन्टाइनमा पठाइएको उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले बताएका छन्। धुञ्चेको क्वारेन्टाइनमा गोसाइँकुण्ड गाउँपालिकाले ६७ जनालाई व्यवस्थापन गरेको बताइएको छ। गापाका अध्यक्ष कैसाङ्नुर्पु तामाङले क्वारेन्टाइनमा खानपिनदेखि वाइफाईसम्म चाहिने आवश्यकता सबै पूर्ण बनाइएको जानकारी दिएका छन।
रसुवाका पाँचै गाउँपालिकाका विभिन्न स्थानमा १० क्वारेन्टाइन रहेको बताउँदै प्रजिअ भण्डारीले जिल्ला बाहिरबाट रसुवा प्रवेश गरेका सबै नागरिकले स्वास्थ्य परीक्षण गराई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान रहेको जानकारी दिएका छन्। ज्याला मजदूरी गरेर काठमाडौँमा बस्दै आएका कालिका गाउँपालिका क्षेत्रका ४० बासिन्दालाई राहतस्वरूप खाद्य पदार्थ व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष सीतादेवी पौडेलले बताएका छन्।
रसुवा प्रवेश गराउँदा पनि १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने प्रावधान छ। लकडाउनका कारण अर्थोपार्जनमा संकट परी बिहानबेलुका छाक टार्न गाह्रो परेका मजदूरको चाहनाबमोजिम बसिरहेको यथास्थान काठमाडौँमै राहत व्यवस्था गरिएको अध्यक्ष पौडेलले बताएका छन्। (रासस)