कोरियाको भिसा लागेर जान नपाएका र बिदामा नेपाल आएर यतै अड्केकाहरुलाई बोकेर नेपाल एयरलाइन्सको चार्टर्ड विमान कोरिया उड्ने भएको छ। वैशाख १८ गते नेपाल एयरलाइन्सको वाइडबडी जहाज कोरियाको राजधानी सियोल जान लागेको हो।
गैरआवासीय नेपाली संघ कोरियाको चार्टर्डमा यो जहाज कोरिया जान लागेको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। वैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनकै समयमा पनि भिसा आइसकेका कामदार पठाउने निर्णय गरेको थियो। यो निर्णयसँगै भिसा आएर पनि दक्षिण कोरिया जान नपाएका कामदारहरुका लागि बाटो खुलेको हो।
प्रवक्ता खड्काका अनुसार ए३३० जहाज १८ वैशाखमा बिहान १० बजे कोरियाको सियोलस्थित इङचोन विमानस्थलमा उड्नेछ। सो विमान भोलिपल्ट बिहान १ बजे काठमाडौं अवतरण गर्ने कार्यक्रम रहेको छ।
रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत बिदामा आएका इच्छुक कामदारलाई र भिसा आए पनि रोकिएकाहरुलाई स्वास्थ्य परिक्षण गराई उनीहरुकै खर्चमा विमान चार्टर गरी पठाउन लागिएको हो। त्यसका लागि इच्छुक कामदारले वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखामा सम्पर्क राख्न अनुरोध गरेको छ।
सरकारले हवाई उडानमा जेठ २ गते सम्मको लागि प्रतिवन्ध लगाएको छ।