काठमाडाै - नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ। बारामा दुई र पर्सामा १ गरी आज एकै दिन तीन जना कोरोना संक्रमित थपिएकाे मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयले मंगलबार गरेको प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बीरगञ्जका ४६ बर्षीय पुरुष र बाराका २६ र ४३ बर्षीय पुरुषमा संक्रमण पोजिटिभ देखिएकाे बताएका हुन्। देवकोटाका अनुसार उनिहरू यसअघि नारायणी अस्पतालमा उपचारत कोरोना संक्रमितसँगै भारतबाट नेपाल फर्किएका व्यक्ति हुन्।
यस अघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने चार जनामा सङ्क्रमण भएको जनाए पछि सरकारी स्वामित्वको समाचार संस्था (रासस)ले नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको समाचार प्रकाशन गरेको थियो । तर स्वास्थ्य मन्त्रालयले भने तीन जनामा मात्रै पुष्टि भएको जानकारी दिएको छ।
नेपालमा हालसम्म कोरोनाको आशंकामा ५७ हजार १ सय ८९ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ११ हजार ५ सय २४ जनाको पिसिआर र ४५ हजार ६ सय ६५ जनाको आरडिटीबाट परीक्षण भएको हाे।
मन्त्रालयकाे तथ्याङ्क अनुसार प्रदेश १ मा २ हजार ४ सय ७८, प्रदेश २ मा १ हजार ४ सय ४, बागमतिमा ६ सय ११, गण्डकीमा ६ सय ९४, प्रदेश ५ मा १२ हजार ५ सय १५, कर्णालीमा ३ हजार ९ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १ हजार २ सय ३६ जना गरि मुलुकभर हाल २२ हजार ९ सय १ जना क्वारेन्टाइनमा रहेका छन्।
त्यस्तै उपत्यका मा ४ जना र उपत्यका बाहिर ८३ जना गरि कुल ८७ जना आइसाेलेसनमा छन् भने ३ सय १० जना रेड जाेनमा परेका छन्।
कुल संक्रमित ५७ मध्ये १६ जना उपचारपछि निको भएर घर फर्केका छन् भने बाँकी संक्रमित धनगढी र भरतपुरमा १/१ जना, वीरगञ्जमा ८ र विराटनगरमा ३१ जनाको उपचार भइरहेको छ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएकाे छ।