प्युठान नगरपालिकाले सात क्वारेन्टाइन र बजार क्षेत्रका सार्वजनिक प्रतीक्षामा स्यानिटाइजर छर्केको छ। कोरोना संक्रमणको नियन्त्रणका लागि स्यानिटाइजर छर्किएको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताए।
नगरपालिकाले नगरका १० वटै वडाका जनतालाई पायक पर्ने गरी क्वारेन्टाइन निर्माण गरेको छ । नगरका क्वारेन्टाइनमा हालसम्म १८२ व्यक्ति बस्दै आएका छन्। बुधबार १४ दिन पुगेका एक व्यक्तिको आरडिटीपछि रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको उनले बताए।
त्यस्तै माण्डवी गाउँपालिकाले पनि कोरोना भाइरसका रोकथाम नियन्त्रणका लागि पालिका क्षेत्रका विभिन्न ठाउँमा औषधि छर्केको छ । पालिकाका जस्पुर बजार, बैंक, क्वारेन्टाइन क्षेत्र र अन्य भीडभाड हुने स्थान वरिपरि औषधि छर्किको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवकुमार पोख्रेलले बताए।
कोरोना संक्रमणबाट बच्नका लागि पालिकाका पाँचै वडामा वैदेशिक रोजगारीबाट आएका व्यक्तिको घरमै पुगेर ज्वरो नाप्ने, स्वास्थ्य अवस्था बुझ्ने र परामर्शसमेत दिने काम गरिएको उनले बताए। रासस