विश्वभरि महामारीका रुपमा फैलिएको कोभिड –१९ को प्रभाव ढोरपाटन शिकार आरक्षमा परेको छ। ढोरपाटनमा शिकारका लागि हरेक वर्ष दुई याम आरक्ष खुला हुने गर्छ । यस वर्ष भने कोरोनाको प्रभावले ढोरपाटन शिकार आरक्षलाई ठूलो असर परेको छ।
आरक्षमा शिकारका लागि असोज–कात्तिक र चैत–वैशाख गरी वर्षमा दुई पटक बोलपत्र आह्वान गरिन्छ। आरक्षमा चालु वर्षको दोस्रो याममा शिकारका लागि बोलपत्र आह्वान गरिए पनि ढोरपाटनमा यसपटक कोही शिकारी नआएको आरक्षका सहायक संरक्षण अधिकृत रमेश यादवले बताए।
पहिले पनि शिकारका लागि आरक्षमा अमेरिका र युरोपपका नागरिक आउने गरेका थिए। यतिबेला हवाई उडान बन्द छ। कोरोना संक्रमण नियन्त्रणका लागि नेपालमा गरिएको बन्दाबन्दीले शिकारी नआएको उनले बताए।
चालु वर्षको दोस्रो यामका लागि ११ नाउर र तीन झारल शिकार गर्न पाउने सरकारी व्यवस्था थियो। शिकारीले रु ९ लाखदेखि १२ लाखसम्मको बोलकबोल गरेर एउटा नाउर मार्न पाउँछन्। त्यसका लागि गत वर्ष चैत ४ गते बोलपत्र सम्झौता भएको थियो।
ढोरपाटन आरक्षणमा शिकार खुला हुँदा वर्षेनी रु दुई करोडभन्दा बढी राजस्व संकलन हुने गरेको छ। ढोरपाटनमा बन्दाबन्दीले यसपटक झण्डै रु एक करोड राजस्व गुमेको सहायक संरक्षण अधिकृत यादवले बताए। उनका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले खुलाएको बोलपत्रमा शिकारीले प्रतिस्पर्धाका आधारमा शिकार गर्न अनुमति पाउँछन्।
गत वर्ष दोस्रो याममा एउटै नाउरको रु १३ लाख ५१ हजार र झारलको रु १३ लाख ५० हजार राजस्व उठेको थियो। ‘यस वर्ष पोहोरको तुलनामा केही बढी शिकारी आउने बेला भएको थियो, कोभिड –१९ ले प्रभावित भयोे’, उनले भने।
हिमालयन सफारिज, ग्लोबल सफारिज, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालयन आउटफिटर, ट्रयाक एन्ड ट्रेल्स, नेपाल वाइल्ड लाइफ समारिजलगायत कम्पनीमार्फत शिकारी ढोरपाटनमा आउने गर्छन्।
ढोरपाटन शिकार आरक्ष रुकुम पूर्व, म्याग्दी र बाग्लुङ तीन जिल्लाको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। रुकुम९पूर्व० मा आरक्षको सबैभन्दा बढी करीब ६० प्रतिशत भू–भाग रहेको छ। रासस