प्रहरी हिरासतमा रहेका नारायणी मोडर्न पल्सेज इण्डस्ट्रिजका संचालक मोहनलाल चाचानलाई हिरासतबाट झिकेर बयोधा अस्पतालको वतानुकुलीत कक्षमा राखिएको छ। लकडाउनका बेलामा दालको कालोबजारी गरेको आरोपमा बारा प्रहरीले बैशाख १४ गते साँझ चाचानसहित ५ जनालाइ पक्राउ गरेको थियो।पक्राउ परेका अन्यलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेको छ।
अर्वपती, उद्योगी मोहनलाल चाचानलाई परवानीपुरमा रहेको नारायणी बयोधा अस्पतालको वतानुकुलीत कक्ष (एसी रुम) मा राखिएको छ। पक्राउ पर्नेबित्तिकै चाचानलाई अस्पताल बासको ब्यवस्था मिलाइएको हो। श्रोतका अनुसार यो सबै कुराको प्रवन्ध बारा प्रहरी प्रमुख कृष्ण पंगेनीले मिलाएका हुन्।
चाचानलाई अस्पतालमा राखिएको बिषयमा चिकित्सकलाई सोध्नुपर्ने पंगेनीको पहिलो प्रतिक्रिया थियो। ‘‘एक ठेली कागज छन्, पुरानो क्रोनीक रोग भएकोले चाचानलाई अस्पतालमा राखिएको हो’’, पंगेनीले भने। तर नारायणी बयोधा अस्पताल स्रोतले भने चाचान पूर्ण रुपमा स्वस्थ रहेको बताएको छ।
यही कुरा बाराका एसपी पगेनीलाई बताउदा उनले भने ‘‘ठिक मान्छेलाई उपचार गरिराख्ने अस्पताललाई पनि कारवाही हुन्छ।’’ चाचान बसेको अस्पतालको कक्षमा प्रहरीको पहरा पनि थिएन। चाचानलाई भेट्न केही संचारकर्मी जाँदा उनी आफ्ना सहयोगीसँग थिए।
त्यतीबेला उनले आफनो स्वास्थ्य अवस्था ठिक रहेको बताएका थिए। यो कुरा सार्वजनिक भएपछि अहिले चाचानलाई पत्रकारसंग भेट गर्न दिइएको छैन। बयोधा अस्पतालले समेत चाचानको स्वास्थ्य पूर्णतया ठिक रहेको जनाएको छ। संचारकर्मीले ‘‘चाचानलाई प्रहरीको पहरा नचाहिने हो र?’’ भनेर सोध्दा एसपी पंगेनीले पहरा राखिएको तर डिउटीमा नबसेको भए प्रहरीलाई पनि कारवाही गर्ने बताए।
उनले चाचानलाई पहिला कलैया जिल्ला अस्पतालमा लगेको र त्यहाबाट रिफर गरेपछि बयोधा अस्पतालमा भर्ना गर्न पठाएका हुन। कलैया जिल्ला अस्पतालले फिजिसियन नभएको भन्दै चाचानलाई चेकजाँच नै गरेको थिएन। जिल्ला अस्पतालले चाचानलाई चेकजाँच नगरि रेफर गर्ने कुरा सबै मिलीभगतमा भएको स्रोतको दावी छ।
दाल उत्पादन हुने उद्योगले नै कालोबजारी गरेको गुनासोको आधारमा बैशाख ३ गते बाराको स्थानीय प्रशासन र बीरगंजस्थित बाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयले उद्योगहरुमा अनुगमन गरेको थियो। अनुगमन टोलीले नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिज, कृष्ण आधुनिक दाल उद्योग र महावीर दाल उद्योगमा अनुगमन गरेको थियो ।
टोलीले उद्योगसँग सम्बन्धीत कागजात बिभागमा पठाएर निर्णय माँग गरेको थियो। उद्योगले कालोबजारी गरेको ठहर गर्दै कारवाही गर्न निर्देशन दिएपछि उद्योगका संचालकहरु पक्राउ परेका हुन ।
प्रहरीका अनुसार, ३ वटै उद्योगले लकडाउन भन्दा पहिले मसुरो दाल प्रति केजी ८० देखि ८५ रुपैयाको भाउमा बिक्री गरेका थिए। तर चैत ११ देखि लकडाउन शुरु भए यता दाल प्रति केजी ९४ देखि ९८ रुपैयाको भाउमा बिक्री गर्दै आएका छन्। नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिजले अनधिकृत आयात निर्यात ब्यपार गर्दै आइरहेको छ।
चाचान ग्रुपको रुपमा रहेको यो प्रतिष्ठानका अध्यक्ष बाबुलाल चाचान बीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन। स्थानीय प्रशासन, राजनीतिक दल र मिडिया समेतलाई म्यानेज गर्न बिभिन्न संयन्त्रमार्फत काम गर्ने चाचानको पहिचान प्रतिष्ठित उद्योगीको रहेको छ। त्यही पहिचानको पृष्ठभूमीमा अनधिकृत कारोवार पनि संचालन हुदै आएको श्रोतको दावी छ।
यसअघि २०७६ जेठ १३ गते एकिकृत भन्सार जाँच चौकी पारी भारतीय सीमा सुरक्षा बलले नारायणी मोडर्न पल्सेजको केराउ लोड गरिएका दुइवटा ट्रक पक्राउ गरेको थियो। चोकरको कागजात बनाएर केराउ निर्यात गरिरहेको अवस्थामा २५ हजार किलो केराउ पक्राउ परेको थियो। २०७६ पुष ४ गते चाचान ग्रुपकै १ सय २० बोरा कालो मरिच पक्राउ परेको थियो।