ठूलो क्षमताको रियल टाइम–पोलिमर चेन रिएक्सन (आरटी पिसीआर) मेसिन जडान भएपछि एक सातादेखि अवरुद्ध कोरोना परीक्षण पुनः सञ्चालन भएको छ। कर्णालीमा प्रदेशमा कोभिड–१९ को परीक्षण दायरा तीव्र पार्न ठूला क्षमताको पिसीआर मेसिन जडान गरेपछि परीक्षण सञ्चालन गरिएको हो। प्रयोगशालामा कार्यरत प्राविधिकहरु मेसिन जडानमा व्यस्त भएपछि यही वैशाख १० देखि पिसीआर विधिबाट कोरोना परीक्षण रोकिएको थियो।
मेसिन जडान गर्न ५ दिन लागेको थियो। प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले ठूलो क्षमताको पिसीआर मेसिन सञ्चालनमा आएपछि स्वाबको पुनः परीक्षणका लागि धनगढी तथा काठमाडौँ पठाउनुपर्ने बाध्यता हटेको बताएका छन्। यसअघि सुर्खेतमा रहेको पिसीआर मेसिनबाट कोभिड–१९ परीक्षण गर्ने गरिएको भए पनि अन्तिम टुङ्गो लगाउन (क्रस भेरिफिकेशन) भन्दै सङ्क्रमण आशङ्का गरिएका व्यक्तिको स्वाब काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो।
“अब क्रस भेरिफिकेशनको काम यहीँबाट हुन्छ, ढुक्क हुनलाई प्रदेशबाहिर नै पठाउनुपर्दैन”, प्रयोगशाला संयोजक आचार्यले भने। पछिल्लोपटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्रिभुवन विश्वविद्यालयमा रहेको ठूलो क्षमताको आरटी पिसीआर मेसिन कर्णाली प्रदेशलाई उपलब्ध गराएको थियो। मन्त्रालयले परीक्षणमा सहयोग गर्नका लागि त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी विभागका प्रमुखसहित चार कर्मचारीलाई खटाएको थियो। उक्त मेसिन इत्रामस्थित पशु रोग अन्वेषण प्रयोगशालामा जडान गरिएको छ।
प्रयोगशालाका अनुसार यो मेसिनले एकैपटक ९६ जनाको परीक्षण गर्न सकिनेछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलोपटक पठाएको सानो क्षमताको पिसीआर मेसिनबाट भने दैनिक १० देखि १५ वटा स्वाबको परीक्षण हुँदै आएको थियो कर्णाली प्रदेशमा हालसम्म २३२ जनाको पिसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । त्यस्तै पाँच हजार १७९ जनामा द्रुत परीक्षण (¥यापिड टेष्ट)विधिबाट परीक्षण गरिएको छ। कर्णालीमा हाल एउटा सानो तथा दुई ठूला गरी तीनवटा पिसीआर मेसिन छन्। (रासस)