रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरस पोजेभि देखिएको छ। कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ।
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुको अनुसार रुसमा संक्रमितको संख्या एक लाख भन्दा बढी पुगेकै दिन बिहीबार उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो। रुसमा बिहीबार एकै दिन सात हजार ९९ जना संक्रमण पुष्टि भएसँगै त्यहाँ संक्रमितको संख्या एक लाख ६ हजार ५ सय पुगेको छ।
गएको जनवरीमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न आएका मिखाइल रुसमा कोरोना भाइरसको महामारी नियन्त्रण अभियानको नेतृत्वमा रहेर काम गर्दै आएका छन्।
रुसी टेलिभिजनमा उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बताउँदै गरेको देखाइएको छ। उनले भिडियो कलमार्फत भनेका छन्,‘मलाई कोरोना भाइरस संक्रमण भएको भर्खरै मात्र थाहा भयो।’
उनी अस्पतालमा रहँदा प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एन्ड्री बेलोउसोभले सम्हाल्ने तय भएको छ। रूसमा कोरोना भाइरसको कारण १ हजार ७३ जनाले ज्यान गुमाएका छन्। संक्रमितमध्ये ११ हजार बढी निको भइसकेका छन्।