लकडाउनका कारण पीडितलाई यतिबेला सबै स्थानीय तहले विपन्न परिवारलाई राहत वितरण गरिरहेका छन्। गुल्मीमा पनि सबै स्थानीय तहमा पहिलो चरणको राहत वितरण सकिएको छ भने केही स्थानीय तहमा दोस्रो चरण शुरु गरिएको छ। दोस्रो चरणको राहतमा सबैजसो स्थानीय तहले दाल, चामल, तेललगायत खाद्य सामग्री वितरण गरेका छन्।
धुर्कोट गाउँपालिकाले भने विपन्न परिवारका लागि रोजगारी दिने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको बैठकले विपन्न तथा मजदूर परिवारका लागि खाद्य पदार्थ वितरण नगरी काम दिने र काम गरेबापत राहत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिएका छन्। यसका लागि मजदूर तथा विपन्न परिवारले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्नेछन्।
सडक मर्मत, गोरेटो बाटो, खानेपानी तथा सिँचाइलगायत क्षेत्रमा रोजगारी प्रदान गरिने गाउँपालिकाले जनाएको छ। काम गरेबापत राष्ट्रिय मापदण्डानुसार पारिश्रमिक प्रदान गरिनेछ। पहिलो चरणमा ७७९ जनालाई राहत वितरण गरेको गाउँपालिकाले दोस्रो चरणमा काम दिने निर्णय गरेको हो। कोरोना भाइरसबाट बच्न गरिएको लकडाउनलाई ध्यानमा राखी सामाजिक दूरी कायम गरेर बढीमा पाँच जनासम्मको समूह बनाएर नजीकैको स्थानमा काममा लगाइने गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले जानकारी दिएका छन्। (रासस)