लमही– बजारमा अभाव भएका समयमा यहाँका युवाले स्यानिटाइजर उत्पादन शुरु गरेका छन्। तुलसीपुरका विभिन्न सामाजिक संस्थामा संलग्न युवाले स्यानिटाइजर उत्पादन थालेका हुन्।
कोभिड–१९ को संक्रमणबाट बच्न साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्नेको संख्या बढेपछि बजारमा स्यानिटाइजर अभाव भएको छ। तुलसीपुर उद्योग वाणिज्य संघको आयोजना तथा युएसएआइडीको आर्थिक सहयोगमा तालीम लिएपछि जेसिज, रोट्याक्ट, निजी अस्पताल र महिला उद्यमीले संयुक्तरुपमा स्यानिटाइजर उत्पादन आरम्भ गरेको व्यवसायी विनिल केसीले जानकारी दिएका छन्।
यस क्षेत्रका ५० स्वयंसेवीलाई तालीम दिइएको र उनीहरुले पहिलो पटक एक हजार २५० लिटर स्यानिटाइजर उत्पादन गर्ने उनले बताएका छन्। विश्व स्वास्थ्य संगठनको मापदण्डानुसार उत्पादित स्यानिटाइजर स्थानीय सरकारको समन्वयमा तुलसीपुर उपमहानगरपालिकाका १९ वटा वडाका स्वास्थ्य संस्थालाई पहिलो चरणमा निःशुल्क वितरण गरिने उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले जानकारी दिएका छन्। रासस