जनता समाजवादी पार्टी वीरगञ्ज नगर कमिटीले वीरगञ्जका मेयर बिजय कुमार सरावगीमाथी कारवाहीको माग गरेको छ। नगर कमिटी अध्यक्ष इश्वरचन्द्र यादवले विज्ञप्ती जारी गर्दै मेयर सरावगीले कुहीएको चामल राहतस्वरुप वितरण गरेको भन्दै कारवाहीको माग गरेक हुन्।
‘‘वीरगञ्ज महानगरपालिकामा राहत वीतरणमा अपारदर्शीताको सवाल शुरुदेखी नै रहि आयो’’ विज्ञप्तीमा लेखिएको छ, ‘‘हिजोमात्र वीरगञ्जको वडा नम्बर १४ मा गुणस्तरहिन कुहिएर डल्लो परेको चामल महानगरपालिकाको कार्यालयले पठाएको भन्ने खबरप्रति हाम्रो ध्यानाकर्षण भएको छ।’’ त्यहाँका वडाध्यक्ष भरत राउत कुर्मीले रोक्दारोक्दै पनि महानगरपालिकाले वितरण गरेको विज्ञप्तीमा उल्लेख छ।
महानगरपालिकाले वडाध्यक्ष कुर्मीमाथी नै छानविन गर्नका लागि कर्मचारी पठाएर लोकतान्त्रीक मुल्यमान्यताको उपहास गरिएको समेत नगर कमिटीको ठहर छ। ‘‘हाम्रै पार्टीबाट निर्वाचित श्री बिजय कुमार सरावगीले पार्टीको भावनाविपरित कार्य गर्नुभएको हुनाले यसप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ।’’
यता मेयर सरावगीले भने पार्टीभित्रको अन्र्तद्वन्द्वको कारण आफुमाथी षडयन्त्र भइरहेको बताएका छन्। ‘‘अहिले हाम्रो पार्टीभित्र अन्र्तद्वन्द्व चलिरहेको छ’’, सरावगीले नेपाली पब्लिकसँग भने ‘‘पार्टीकै केहि माननिय ज्यूहरुको निर्देशनमा मलाई बदनाम गराउन खोजीदैछ।’’
राहत वीतरणको सम्बन्धमा भने मेयर सरावगीले महानगरपालिकाले कुनै किसीमको लापरवाही नगरेको दावी गरे। ‘‘हामीले यसको छानविनको लागि ३ सदस्यिय कमिटी बनाईसकेका छौ’’, उनले भने ‘‘तिन दिनपछि समितीले बुझाउने प्रतिवेदनबाट सबैकुरा स्पष्ट भइहाल्छ।’’
राहतको चामल गुणस्तरहिन भएको जानकारी पाएलगत्तै आफुँले बुझ्नको लागि नगरपालिकाको कर्मचारी पठाउदाँ वडाध्यक्ष कुर्मीले असहयोग गरेको मेयर सरावगीले बताए। ‘‘त्यहाँ गएका कर्मचारीमाथी कुटपिट गर्नका लागि गुण्डा परिचालन गरिएको थियो’’, उनले भने ‘‘कर्मचारीसँग नगर प्रहरी पनि गएको हुनाले अप्रिय घटना हुन सकेन।’
वीरगञ्ज महानगरपालिकाका मेयर सरवागी तत्कालिन समाजवादी पार्टीबाट चुनाव लडेर बिजयी भएका हुन्।