प्रदेश नं ५ मा बन्दाबन्दी शुरु भएपछि दुर्घटनाको दर हवात्तै घटेको छ। सडकमा टिपर तथा माइक्रो बस हिँडन छाडेपछि दुर्घटना दर घटेको ट्राफिक प्रहरीले जनाएको छ। यसअघि दैनिकजसो हुने सवारी दुर्घटनामा मानिसको मृत्यु र घाइते हुने क्रम वढी थियो।
गत आर्थिक वर्ष २०७५/०७६ को चैतमा यस प्रदेशमा ८१ सवारी दुर्घटना हुँदा ५४ को मृत्यु, ८० गम्भीर घाइते र ६० सामान्य घाइते भएका थिए। चालु आव २०७६/०७७ को चैतमा ५२ सवारी दुर्घटना भएका छन् भने यसबाट २१ को मृत्यु, ५० गम्भीर घाइते र १३ सामान्य घाइते भएको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक मधुसूदन लुइँटेलले जानकारी दिएका छन्। गत आवको २०७५/०७६ वैशाखमा ९० सवारी दुर्घटना हुँदा ५८ को मृत्यु, ६३ गम्भीर घाइते र ४३ सामान्य घाइते भएकामा चालु आव २०७६/०७७ वैशाखको अहिलेसम्म २१ सवारी साधनमा चारको मृत्यु, सात गम्भीर घाइते र नौ सामान्य घाइते भएको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय वुटवलले जनाएको छ।
गत आव २०७५/०७६ वैशाखसम्मको १० महिनामा यस प्रदेशमा सवारी दुर्घटना ८६८ भएका थिए भने मृत्यु हुनेको सङ्ख्या ४९६ र गम्भीर घाइते ७८५ र सामान्य घाइते ५८६ भएकामा चालु आवमा २०७६/०७७ मा मृत्युदर केही घटेको छ। चालु आवको वैशाखसम्मको १० महिनामा सवारी दुर्घटना ८५८ भएकामा मृत्यृ हुने ३९२, गम्भीरर घाइते ८३४ र सामान्य घाइते ४३२ रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवल सूचना शाखाले जनाएको छ।
बन्दाबन्दीसँगै प्रदेश नंं ५ मा ट्रक पाँच हजार ८१८, बस ८८७, जिपकार पाँच हजार २२१, ट्रयाक्टर १९, मोटरसाइकल दुई हजार ५३०, अटो दुई र अन्य एक गरी १४ हजार ४७८ मालवाहक तथा सवारी साधन सञ्चालनमा आएको ट्राफिक प्रहरीको तथ्याङ्कमा देखिएको छ। ती साधनमा ३६ हजार ९४३ मानिसले आवतजावत गरेका छन्। (रासस)