कुनै बेला निकै लोकप्रिय नेता थिए – डा. बाबुराम भट्टराई। आम जनता र आफ्ना कार्यकर्तामात्र नभई बिरोधी पार्टीका नेता–कार्यकर्ताले समेत उनको खुलेर प्रशंसा गर्थे। उनको पहिचान एउटा ‘‘भिजिनरी’’ नेताको रुपमा बनेको थियो। तर, अहिले अवस्था बदलिएको छ।
सम्भवत बाबुरामको नाम वर्तमान समयमा सबैभन्दा बढी गाली खाने नेताहरुको सुचिमा पहिलो स्थानमा होला। सामाजिक सञ्जाल ट्वीटरमा उनी अन्य नेताहरुको तुलनामा अलि बढी नै सकृय छन्। त्यस्तै फेसबुकमा पनि उनको उपस्थिती देखिन्छ।
प्रायः सरकार र पुर्वमाओवादी नेतालाई गाली गरेर उनले आफ्ना स्ट्याटसहरु लेखिरहेका हुन्छन्। माओवादी छाडेर नयाँ शक्ति हुँदै समाजवादी पार्टीबाट जनता समाजवादी पार्टीको नेता बन्दासम्म उनको स्ट्याटसमा आजकल हिन्दी भाषाको प्रयोग पनि बढेको छ। त्यसवापत पनि उनले सामाजिक सञ्जालमा उत्तीकै आलोचना खेप्नु परेको छ ।
हिन्दी भाषामा लेखिएको ट्वीट र त्यहाँ आएका प्रतिकृया हेर्न यहाँ क्लिक गर्नुहोस
उनलाई सामाजिक सञ्जालमा दिइएका कतिपय उपनाम त यहाँ उल्लेख नै गर्न नसकिने छन् । उनका ट्वीट र फेसबुक स्ट्याटस्मा मानिसहरुले गरेको कमेन्ट केलाउने हो भने यस्ता धेरै उपनामहरु भेटिन्छन्।
छाडा शब्दकै प्रयोग गरेर गाली गर्नेहरुको संख्या पनि उल्लेख्य छ। उनका विचारहरुमा आउने प्रतिकृयाहरुमध्ये अधिकांस उनको बिरोधमा नै देखिन्छ।
माओवादी सशस्त्र द्वन्द्वका बेला शिखरमा रहेको उनको लोकप्रियता पुष्पकमल दाहाल नेतृत्वको सरकारको अर्थमन्त्री हुँदासम्म पनि कायम थियो। प्रधानमन्त्रीको रुपमा पनि उनले शुरुआतमा राम्रै प्रतिकृया पाए। तर, प्रधानमन्त्रीको रुपमा उनले गरेका केहि निर्णयहरुले जनता झस्किए।
मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थल भारतिय सेनाको जिम्मा लगाउनेजस्तो प्रस्ताव ल्याएपछि उनी एकाएक जनताको शंकाको घेरामा परे। भारतसँगैको अर्को बिवादित बिप्पा सम्झौताले उनलाई भारतपरस्त नेताको उपमा भिराइदियो ।
भारतीय गुप्तचर ‘रअ’को स्वार्थपुर्तीका लागि पहिलो संविधान सभाको राष्ट्रघाती अवसान गराएको आरोप समेत उनीमाथि लाग्दै आएको छ।
माओवादीमा प्रचण्डपछिको दोश्रो नेता थिए, बाबुराम। पार्टीभित्रको आन्तरिक कलहबावजुद उनी पार्टीभित्र शक्तिशाली नै थिए। एकपटक अर्थमन्त्री र एकपटक प्रधानमन्त्री पनि माओवादीबाट नै बने। तर, उनी त्यँहा टिक्न सकेनन्।
पुष्पकमल दाहालको व्यक्तिवादी रवैयाको हवाला दिँदै उनले पार्टी फुँटाउदा उनको रवैया पनि त्यो भन्दा फरक थिएन्। आफुँनिकटका नेतासमेतसँग सल्लाह नगरी एकल निर्णय गरेर पार्टी फुटाएको र निकट नेताहरु वाध्यताले पछि लागेको बताइन्छ। पार्टिका प्रभावशाली रामचन्द्र झा पछि माओवादीमै फर्किनु र मुमाराम खनाल र रामेश्वर खनालजस्ता व्यक्तिले पार्टी परित्याग गर्नुको दोष पनि बाबुराममाथी नै जान्छ।
बाबुरामलाई ‘बहुरुपी’को नाम पनि दिइएको छ। यता संविधान जारी गर्न हस्ताक्षर गरेर दुई दिनपछि मधेसमा गएर संविधान जलाएपछि उनको ‘दुईधारे’ चरित्र उदाङ्गीएको थियो। पछिल्लो समय राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीविच गरिएको एकिकरण सम्झौतामा उल्लेखित ‘बहुराष्ट्रिय राज्य’ शब्दका कारण पनि बाबुरामको चरित्र थप धुमिलिएको छ।
समग्रमा हेर्ने हो भने, माओवादी छोडेपछिको बाबुरामको राजनीतिक यात्रा लथालिंग देखिन्छ जसले उनलाई आलोचित त बनाएकै छ राजनीतिको खलपात्रको रुपमा पनि चित्रित गरिदिएको छ ।