काठमाडाैं - पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) का नयाँ संक्रमित नभेटिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा भएका १२ सय ५२ वटा नमुना परीक्षण नेगेटिभ आएको बताएका छन्।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३ हजार ९८ नमुना परीक्षण भएका छन् भने र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४८ हजार ५ सय २९ नमुना परीक्षण भएका छन्।
मन्त्रालयका अनुसार अहिलेसम्म ५९ जना संक्रमित छन्। जसमध्ये १६ जना निको भएर डिस्चार्ज भएका छन् भने ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
मन्त्रालयकाे तथ्याङ्क अनुसार अहिले २२ हजार ९ सय ७८ जना मुलुकका विभिन्न क्वारेन्टाइनमा रहेका छन् भने उपत्यकामा चार र बाहिर ८५ गरेर ८९ जना आइसोलेसनमा छन्।