अमेरिकाको न्युयोर्क शहरमा रहेको एउटा नर्सिङ होममा कोरोना भाइरस(कोभिड–१९)को कारण ९८ जनाको मृत्यु भएको छ। शुक्रबार अधिकारीहरुले उनीहरु सवैले कोरोना कै कारण ज्यान गुमाएका जनाएका हुन्।
न्युयोर्कका मेयर बिल डे ब्लासियोले भने, “यो अत्यन्त हृदय विदारक छ, अपूरणीय क्षति भएको छ, असंभव र अकल्पनीय घटना भएको छ, मैले पत्याउन सकिरहेको छैन।” एउटै नर्सिङ होममा यति धेरै मानिसको मृत्यु भएको सायद यो अमेरिकाकै दुर्लभ घटना भएको उनले जनाए।
ती मृत्यु भएका मध्ये १३ जनाको त शुक्रबार मात्रै मृत्यु भएको हो। कोरोना भाइरसको संक्रमण फैलिन सकने डरले मृत्यु भएकाहरुको तत्काल अन्त्येष्टि पनि नगरिने भएको छ। कोरोनाभाइरसको केन्द्र विन्दु मानिएको अमेरिकाको न्युयोर्कमा कोरोना भाइरस फैलिन थालेदेखि नै न्युयोर्कमा संक्रमित हुने र मृत्यु हुनेको संख्या अत्यधिक धेरै रहेको छ।
शनिबार दिउसोसम्मको विवरण अनुसार अमेरिकामा कुल ६५ हजार ७७६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै २३ जनाको मृत्यु भएको छ। त्यसैगरी कुल संक्रमितको संख्या ११ लाख ३१ हजार ४९२ पुगेको छ। ती मध्ये एक लाख ६१ हजार ५६३ जना भने संक्रमणमुक्त भइसकेका छन् ।