एजेन्सी- संसारको सबैभन्दा अग्लो शिखर सगरमाथामा फाइभजी नेटवर्क सञ्चालनमा आएकाे छ। चाईना मोबाइल र ह्वावेले संयुक्तरुपमा सगरमाथाको चुचुरोसम्म पाँचौं जेनेरेशनको मोबाइल नेटवर्क- ५जी पुर्याएका हुन्।
सगरमाथाकाे तिब्बततर्फको भू-भागमा पर्ने ६ हजार ५ सय मिटरको उचाईमा चाईना मोबाइल र ह्वावे कम्पनीले ५जी कनेक्टिभिटीकाे बेस स्टेशन निर्माण गरेका छन् जुन विश्वकै सबै भन्दा अग्लाे स्थानकाे ५जी स्टेशन हाे। याे सँगै बिहीबार मध्यान्हदेखि सगरमाथा क्षेत्रमा ५जी सेवा सञ्चालनमा आएकाे खबर चाइना डेलीमा प्रकाशित छ।
६ हजार ५ सय मिटरको उचाईमा गिगाबिट अप्टिकल फाइबर नेटवर्क पुर्याएसँगै अब चाईना मोबाइलले आफ्नाे डुअल गिगाबाइट नेटवर्क सञ्चालन गर्न सक्ने छ। साे कार्यमा चाईना मोबाइललाई ह्वावेले सघाएको छ।ह्वावेले चाइना मोबाइलको डुअल गिगाबाइट नेटवर्क तयार पार्न आफूले इन्ड टु इन्ड सोलुसन उपलब्ध गराएको जनाएको छ।
चाईना मोबाइलकाे डुअल गिगाबाइट नेटवर्ककाे बेस स्टेसन ५ हजार ३ सय मिटरको उचाइमा रहेको सगरमाथा बेस क्याम्पमा राखिएको छ भने ट्रान्जिसन क्याम्प ५ हजार ८ सय मिटर उचाईमा र फरवार्ढ क्याम्प ६ हजार ५ सय मिटर उचाईमा छ।
सगरमाथाकाे बेस क्याम्पमा फाइभजी नेटवर्ककाे डाउनलाेड स्पिड १.६६ जीबीपिएस (1.66 Gbps) र अपलाेड स्पिड २१५ एमबिपिएस (215 Mbps) रहेकाे ह्वावेले जनाएकाे छ।
सगरमाथाकाे उचाईमा पुर्याएकाे फाइभजी नेटवर्क निर्माणमा दर्जनौं नेटवर्क विज्ञहरू हप्ताको सातै दिन २४ सै घण्टा खटेका थिए। नेटवर्क निर्माणका लागि आवश्यक एन्टेना, टावर, सोलार लगायतका आवश्यक सामान चौरी गाई र चिनियाँ भरियामार्फत पुर्याइएकाे जनाएकाे छ।
उत्तरी क्षेत्रबाट पहिलो पटक सगरमाथा आरोहण भएकाे ६० वर्ष पुगेकाे अवसर पारेर चीनले सगरमाथाकाे शिखरमा ५जी नेटवर्क पुर्याएकाे हाे। सगरमाथाकाे शिखरमा पुर्याएकाे ५जी नेटवर्कले सगरमाथाकाे उचाईकाे सहि मापनमा समेत सहयाेग पुग्ने ह्वावेकाे भनाइ छ।