काठमाडाैं- पार्टीभित्रकाे दवाब थेग्न नसकेपछि प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटि बैठक बोलाउन सहमत भएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्थायी कमिटि बैठक बोलाउन निरन्तर दवाब दिइरहेका थिए ।
शनिबार बसेको नेकपा सचिवालय बैठकले बैसाख २५ गते विहान ११ बजे स्थायी कमिटि बैठक बोलाउने निर्णय गरेको हो । स्थायी कमिटिको बैठकको तयारीका लागि बैसाख २४ गते अपरान्ह ३ बजे सचिवालयको बैठक बोलाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि भएका गल्ती कमजोरीप्रति आत्मालोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा अर्का अध्यक्ष प्रचण्ड र अन्य नेताहरुले समेत पार्टीभित्र भएका कमजोरी पनि आत्मालोना गरेको श्रेष्ठले बताए ।
बैठकले गुटगत राजनीति नगर्न तथा कुनै पनि गुटमा नलाग्न पार्टीका सम्पूर्ण सदस्यलाइ निर्देशन समेत दिएकाे छ । श्रेष्ठका अनुसार बैठकले पार्टीलाइ एकताबद्ध बनाएर लैजान सहमतीका साथ अघि बढ्ने निर्णय गरेकाे छ ।
सचिवालय बैठकमा पाटीमा तीनजना अध्यक्ष राख्ने सम्बन्धमा सामान्य छलफल मात्र भएकाे श्रेष्ठले बताए । उनले भने, "माधव कुमार नेपाल आफैं पनि तीनजना अध्यक्ष राख्ने पक्षमा नरहेकाले तीन जना अध्यक्ष राख्ने कुरा अब अघि नबढ्ने भएकाे छ ।"