काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभामा पराजित आफ्ना नेतालाई प्रधानमन्त्री बनाउने तयारी शुरु गरेकाे छ । नेकपाले सचिवालय सदस्य बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने बाटो खोल्न उनलाइ प्रतिनिधि सभाकाे उम्मेद्वार बनाउने निर्णय गरेकाे छ । त्यसका लागि गौतमलाई प्रतिनिधि सभामा ल्याउन नेकपा सचिवालयका सदस्यहरु सहमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकले गौतमलाई उपयुक्त वातावरणमा प्रतिनिधि सभाको उम्मेद्वार बनाउन पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रतिनिधि सभामा गौतमलाई ल्याउन पहल गर्ने निर्णयमा स्वभाविकरुपले प्रधानमन्त्री बनाउने कुरा अन्तरनिहित भएको श्रेष्ठले बताए ।
गौतम यसअघि प्रतिनिधि सभाको निर्वाचनमा बर्दियाबाट पराजित भएका थिए । संवैधानिक प्रावधान अनुसार, प्रधानमन्त्री हुनका लागि प्रतिनिधि सभाकाे सदस्य हुन अनिवार्य छ ।