महोत्तरी- महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै सोमबार बिहान ११ जना भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको वडाध्यक्ष बलिराम रायले बताए।
पक्राउ परेका उनीहरूले भारतको पश्चिम बङ्गाल राज्यको कोलकाता घर भएको बताएका छन्। उनीहरुले महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया गाउँमा लामो समयदेखि जस्तापाताका भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएको बताएका छन्।
लकडाउनको अवधि लामो हुँदै गएपछि खानपिनमा समस्या भएको भन्दै उनीहरु लुकेर आज मिर्मिरे बिहानीमै आफ्नो घरतिर जाँदै गरेको अवस्थामा सीमानाका मै पक्राउ परेका हुन्।
पक्राउ परेका उनीहरूलाई अहिले प्रहरीचौकी कट्टिकटैयामा राखिएकाे छ।
उनीहरुलाई नगर प्रमुख, सुरक्षा निकाय, प्रशासन लगायतसँग छलफल गरी के गर्ने भन्नेबारे निर्णय लिइने वडाध्यक्ष रायले बताए। रासस