जुम्ला– मुलुकभर फैलिँदो कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न डेढ महिनादेखि देश लकडाउनमा छ। सङ्घीय सरकारभन्दा एक दिनअगावै गत चैत १० गते नै जुम्लाका सरोकारवाला निकायको सक्रियतामा लकडाउन घोषणा गरिएको थियो।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले स्वास्थ्यकर्मी अग्रपङ्तिमा छन्। उनीहरुलाई यस महामारीविरुद्धको विशाल अभियानमा उत्प्रेरित गर्न दैनिक भत्ताको व्यवस्थापन गरिएको छ। जुम्लाको चन्दननाथ नगरपालिकाले यस महामारीविरुद्धको अभियानमा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न दैनिक रु एक हजारको भत्ताको व्यवस्थापन गरेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताएका छन्। उनले भने, ‘नगरपालिकाले कार्यपालिकाको निर्णय गरी दैनिक भत्ताको व्यवस्थापन गरेको हो।’
त्यसैगरी नगरपालिकाले पालिकाको सिमानामा पर्ने कर्णाली राजमार्गअन्तर्गत गमगाडमा हेल्थ डेस्क स्थापना गरेको छ। अन्य गाउँपालिका र जिल्ला बाहिरबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क स्थापना गरिएको जनस्वास्थ्य निरीक्षक महतले बताएका छन्। रासस