पर्वत– सरकारले आह्वान गरेको लकडाउनका बेला महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षक पक्राउ परेका छन्। दक्षिण पर्वतको पैँयु गाउँपालिका–२ त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
शनिबार पानी लगाउने नहरको विषयमा सामान्य विवाद हुँदा शिक्षक रानाले स्थानीय एक महिलामाथि निर्घात कुटपिट गरेका थिए। सोही विषयलाई लिएर महिलाले गाउँपालिकासँगै प्रहरी चौकीमा उजुरी दिएकी थिइन्।
उजुरीका आधारमा शिक्षकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक विजयकुँवर सिंहले जानकारी दिएका छन्। महिलालाई गम्भीर चोटपटक लागेको हुँदा उपचारका लागि छिमेकी जिल्ला स्याङ्जाको वालिङ पठाइएको प्रहरी निरीक्षक सिंहले बताएका छन्।
त्रिवेणीका वडाध्यक्ष भीमसेन गुरुङका अनुसार महिलामाथि गम्भीर चोट लागेको पाइएको छ। स्थानीयवासी समयमै घटनास्थालमा पुगेको हुँदा घटनाले ठूलो रूप लिन नपाएको अध्यक्ष गुरुङले जानकारी दिएका छन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस