काठमाडौँ, २ फागुन –बलिउडका चर्चित नायक ऋतिक रोशन स्टारर चलचित्र ‘सुपर ३०’ अहिले रिलिजको तयारीमा छ। तर, उक्त चलचित्रबाट निर्देशक भने बेपत्ता भएका छन्।
यो विषयलाई लिएर निर्माण युनिटका सीईओ शिवासिष सरकारले भनेका छन् ‘विकास बहल यस चलचित्रको निर्देशकका रुपमा हुनुहुन्न। उहाँ प्रोडक्सनमा सहभागी नभएपछि हामीले क्रेडिट नदिएका हौँ।’ चलचित्र ‘सुपर ३०’ ले जुलाई ३० लाई आफ्नो रिलिज मिति तय गरेको छ।
उनका अनुसार यस चलचित्रलाई ‘इन-हाउस क्रेडिट पार्टनर’ को सहयोगमा सम्पन्न गरिएको छ। त्यहाँ कुनै निर्देशकलाई क्रेडिट नदिएको उनले बताए। शिवाशिषले अनुराग कश्यप यस चलचित्रको निर्देशकका रुपमा रहे पनि उनको नाम निर्देशकमा नराख्ने सहमती भएको समेत बताएका छन्।
उनले निर्देशकको रुपमा कोही आबद्ध भएपछि उसले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए। उनले भने, ‘निर्देशक भएपछि त चलचित्र निर्माणको पूर्ण जिम्मेवारी लिनुपर्ने हो नि। तर, उनी त बीचबाट नै गायब भए। उसलाई अब के कारणले क्रेडिट दिउँ? चलचित्रमा ऋतिकसँगै मरुनल ठाकुर र पंकज त्रिपाठीले अभिनय गरेका छन्।