मकवानपुर- मकवानपुरमा लकडाउनलाई थप कडा बनाउने भएको छ। सुरक्षाकर्मी, प्रशासन, स्थानीय तह र सरोकारवालासहित आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले यस्तो निर्णय गरेको हो। लकडाउन कडा बनाउनका लागि बाक्लो उपस्थितमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए।
अत्यावश्यक अवस्थामाबाहेक कसैलाई पनि हिँडडुल गर्न नदिइने निर्णय भएको उनले बताए। ‘तराईका जिल्लाबाट मकवानपुर आउने सवारी साधनमा पनि चालक र सहचालकबाहेक अन्य कसैलाई पनि प्रवेश गर्न नदिइने निर्णय भएको छ’, उनले भने, ‘मकवानपुरबाट काठमाडौँ जानका लागि पास जारी नगरिने विषयमा समेत छलफल भएको छ।’
मास्क र स्यानिटाइजर सहयोग
नेपाली काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ७२० थान मास्क र ११ लिटर स्यानिटाइजर सहयोग गरेको छ। उनले सहयोग गरेको मास्क र स्यानिटाइजर आज मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई हस्तान्तरण गरे। सो अवसरमा प्रमुख जिल्ला अधिकारी नेपालले कोरोना भाइरस सङ्क्रमणबाट बच्न मास्क र स्यानिटाइजर सहयोग उपलब्ध गराइदिएकामा नेतृ डिनालाई धन्यवाद दिए।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र हेटौँडा उपमहानगरपालिकाका काँग्रेसका सभापति आनन्दराम पराजुलीलगायत सहभागी रहेका थिए। रासस