काठमाडाैं - स्वास्थ्य मन्त्रालयले मदिरा सेवनले रोगसँग लड्ने क्षमतामा कमी आउनुका साथै कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने जनाएकाे छ।
मन्त्रालयले आज गरेकाे प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मदिराको अत्याधिक सेवनका कारण दिमागमा नकारात्मक कुराहरु आउनुका साथै अन्य रोगबाट पनि प्रभावित हुन सकिने भन्दै मदिरा सेवन नगर्न सचेत गराएका हुन्।
सरकारले काेराेनाकाे आशंकामा ६६ हजार ७७ जनाको नमूना परीक्षण गरिसकेकाे छ। जसमा १३ हजार ८ सय ५० जनाको पिसिआर र ५२ हजार २ सय २७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयले जनाएकाे छ। त्यस्तै पछिल्लाे २४ घण्टामा १ हजार ५ सय ८२ जनाको नमूना परीक्षण भएका छन्।
जसमा आज थप नयाँ ७ संक्रमित भेटिएका छन्। नेपालगञ्जका ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ८२ पुगेको हो। देबकाेटाका अनुसार संक्रमितहरु सबैजना विभिन्न अस्पतालमा उपचाररत छन्।
मन्त्रालयकाे तथ्याङ्क अनुसार, अहिले मुलुकभर हाल २१ हजार ५ सय जना क्वारेन्टाइनमा छन् भने काठमाडौं उपत्यका भित्र २ र बाहिर १ सय १८ गरी कुल १ सय २० जना अस्पतालको आइसोलेसनमा छन्।