सरकारले लकडाउनको अवधि लम्ब्याउने भएकाे छ। कोभिड–१९ सम्बन्धि उच्चस्तरिय समन्वय समितिको मंगलबार बसेको बैठकले भाइरस नियन्त्रणमा सरकारले चालेको कदम सही रहेको ठहर गर्दै लकडाउन लम्ब्याउनुपर्ने निश्कर्ष निकालेको हो ।
प्रधानमन्त्रीसहित बालुवाटारमा बसेको उच्चस्तरिय समितिको बैठकमा लकडाउनको अवधि र स्वरुपबारे छलफल भएको थियो । बैठकले संक्रमणको जोखिम अझै कायम रहेको भन्दै लकडाउनको अवधि लम्ब्याउनुपर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीका अनुसार, संक्रमण नियन्त्रणका लागि सरकारले लिएको नीति उचित रहेको बैठकको निश्कर्ष छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि तत्काल लकडाउन अन्त्य गर्ने वा खुकुलो पार्ने मनस्थितिमा नरहेको बैठकमा सहभागि एक मन्त्रीले बताए ।
लकडाउनको अवधि थप गर्नेबारे बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नेछ । मन्त्रिपरिषद्को बैठक बुधबार विहान ११ बजेका लागि तय गरिएको छ । यसअघि थपिएकाे लकडाउनकाे अवधि आगामी विहिबार सकिंदैछ ।