कोरोना भाइरस (कोभिड–१९) सुरु भएको चीनको वुहान शहरमा विद्यालयहरु खुलेका छन्। बुधबारदेखि नौ देखि १२ कक्षासम्मका विद्यार्थीहरु विद्यालय जान थालेका हुन्।
पछिल्लो ३२ दिनयता हुबेई प्रान्तमा कुनै पनि नयाँ संक्रमित फेला नपरेका हुनाले वुहानका विद्यालयहरु बुधबारदेखि खोल्ने निर्णय गरेको हो। विद्यालय जानुभन्दा अगाडि विद्यार्थीहरुले अनिवार्य रुपमा कोरोना भाइरस परीक्षण गर्नु पर्ने र विद्यालयमा भौतिक दुरीको नियम पालना भने गर्नुपर्ने बताइएको छ।
चीनको अन्य प्रान्तका १२ कक्षाका विद्यार्थीहरु भने गत मार्चदेखि नै विद्यालय जान थालेका थिए। बुधबार चीनमा केवल दुई नयाँ संक्रमित फेला परेका छन्। यससँगै चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ हजार ८८३ पुगेको छ। साथै यसबाट मृत्यु हुनेको संख्या पनि चार हजार ६ सय ३३ पुगेको छ। चीनमा अब तीन सय ५० भन्दा पनि कम बिरामी बाँकी निको हुन बाँकी छन्। जसमध्ये २६ जनाको अवस्था गम्भीर छ।