काठमाडाैं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकअघि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच छलफल भएको छ। बैठकका एजेण्डा र स्थायी कमिटी बैठकमा पेश गर्ने प्रस्तावका सन्दर्भमा उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो।
नेकपा सचिवालय बैठक आज अपरान्ह ३ बजे बस्दैछ। बैठकमा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले स्थायी कमिटी बैठकका एजेण्डा प्रस्तुत गर्ने भनिए पनि दुई अध्यक्षबीचमै कुरा नमिलेकाले प्रस्ताव लेखन नै अघि नबढेको स्रोतले जनाएको छ।
त्यस्तै नेकपा उपाध्यक्ष बामदेव गौतमले बुधवार विहानै नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग भेट गरेका छन्। उक्त भेटमा उनले आफू पार्टीमा एकताको पक्षमा रहेको बताएका छन्।
लगतै प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठ चार नेताको मात्र अलग छलफल भएको थियो। सो छलफलमा बामदेवले विश्वासघात गरेको चर्चा भएको थियो।
वैशाख २० गतेको सचिवालय बैठकको निर्णय अनुसार अघि नबढे नेकपामा पुनः विवाद चर्किने नेताहरुले बताएका छन्। स्थायी कमिटी बैठकको एजेण्डा र राजनीतिक प्रस्तावकै विषयले सचिवालय बैठक पुनः प्रभावित हुने सम्भावना छ।