हेटौंडा– मकवानपुरमा बाढीले मोटरसाइकल बगाउँदा त्यसमा सवार एक युवकको ज्यान गएको छ। भीमफेदी गाउँपालिका–८ इपादेउरालीका २३ वर्षे सन्तोष भनिने कृष्ण खनालको ज्यान गएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार मृतक खनाल काठमाडौँको कालिमाटीमा तरकारी व्यवसाय गर्ने गर्थे। लामो समयको लकडाउनका कारण इपादेउरालीमा रहेको घर फर्किएका उनीलाई मोटरसाइकलमा स्थानीय कोगटे खहरेले मोटरसाइकलसहित बगाएको थियो।
गए राति काठमाडौँबाट बा४४प ६०५८ नंको मोटरसाइकलमा घर आउँदै गरेका खनाललाई भारी वर्षापछि आएको खहरेले मोटरसाइकलसहित बगाउँदा ज्यान गएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी सुजन पाठकले जानकारी दिएका छन्। रासस