सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे विहिबारका लागि बाेलाइएकाे स्थायी कमिटी बैठक अन्तिम समयमा आएर स्थगित गरिएकाे छ । यसअघि गत बैसाख २० गते बसेकाे सचिवालय बैठकले विहिबार विहान ११ बजे स्थायी कमिटीकाे बैठक राख्ने निर्णय गरेकाे थियाे ।
स्ठायी कमिटी बैठकमा पेश गर्नुपर्ने प्रस्ताव तयार भइनसेका कारण स्थगित गरिएकाे महासचिव विष्णु पाैडेलले बताए । यद्यपि सचिवालयका अर्का एकजना सदस्यका अनुसार, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे अनिच्छाका कारण बैठक स्थगित गर्नुपरेकाे हाे ।
यसअघि पार्टीभित्रैबाट तिब्र दवाब आएपनि बेवास्ता गर्दै आएका अध्यक्ष ओली २० गतेकाे सचिवालय बैठकमा मात्र स्थायी कमिटी बाेलाउन सहमत भएका थिए । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे सचिवालय बैठकमा ओली केहीबेर मात्र बसेर 'सञ्चाे नभएकाले आराम गर्नु छ' भन्दै बाहिरिएका थिए ।
त्यसपछि ओली नफर्किएपछि सचिवालय बैठक सकेर अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ओलीलाई भेट्न गए । दुइ अध्यक्षवीच भएकाे छलफलमा तत्कालका लागि स्थायी कमिटी बैठक स्थगित गर्ने सहमती जुटेकाे थियाे ।