मेलम्ची– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगरपालिकाका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण शुरु गरेको छ। लकडाउनको समय लम्बिएसँगै नियमित औषधि सेवन गर्नेलाई असहज भएको गुनासो बढेसँगै औषधि वितरण शुरु गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले नगरभित्रका मधुमेह, उच्च रक्तचाप, बाथरोग, कलेजेका बिरामी, मिर्गाैला, मुटुरोगको औषधि वितरण गरेको हो। नगरप्रमुख डम्बरबहादुर अर्यालले आज मेलम्ची–७ बाट निःशुल्क औषधि वितरण शुरु गरिएको जानकारी दिएका छन्।
यसैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी–नेकपा मेलम्ची नगर कार्यादलले नगर मातहतको उपचार कोषमा रु दुई लाख ८७ हजार १६६ हस्तान्तरण गरेको छ। नगरभित्रका १३ वडा र कार्यदलका सदस्यबाट सो रकम सङ्कलन गरी नगरपालिकाका प्रमुख अर्याललाई हस्तान्तरण गरिएको हो। मेलम्ची नगर कार्यादलका संयोजक चन्द्रबहादुर थापाले सो रकम हस्तान्तरण गरेका थिए।
शव फेला
मेलम्ची नगरपालिका–११ धितालबेँसीस्थित खोल्सामा एक पुरुषको शव फेला परेको छ। कैलाली घोडाघोडी नगरपालिका–१ घर भइ हाल मेलम्ची नगरपालिका–११ कमलबहादुर भट्टराईको घरमा भाडामा बस्दै आएका ३४ वर्षीय बिर्खबहादुर विकको शव बुधबार फेला परेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिएका छन्। रासस