मोरङ– प्रदेश १ मा ८ जनामा कोरोनाभाइरस (कोभिड–¬१९) निको भएको छ। यो सँगै नेपालमा कोरोना भाइरस निको हुनेको संख्या ३० पुगेको छ। कोशी अस्पतालमा उपचाररत उनीहरुको दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार बिहान डिस्चार्ज गरिएको छ।
डिस्चार्ज भएकामध्ये पाँचजना उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका हुन् भने २ जना विराटनगर महानगरपालिका–१७ का बासिन्दा हुन्। यस्तै एक जना भारतीय नागरिक हुन्।
बुधबार मात्रै ६ जना कोरोनासँगको लडाई जितेर डिस्चार्ज भएका थिए। कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा अब १७ जना कोरोना संक्रमित रहेका छन्। उनीहरु सबैको अवस्था सामान्य रहेको छ। प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो ।
डिस्चार्ज भएका सबैलाई ८ वैशाखमा कोरोना संक्रमण देखिएको थियो। संक्रमण मुक्त भएकाहरूबाट थप जोखिम हुने भएकाले १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ।