प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको बताएका छन् । सिंगो मुलुक कोरोनाविरुद्धको लडाइमा होमिएका बेला अलोकतान्त्रिक र भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेर सरकारले शासन गर्ने आधार गुमाएको देउवाको तर्क छ ।
संसदको शुक्रबार शुरुभएको बजेट अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको बैठकमा बोल्दै देउवाले सिंगो मुलुक कोरोनाबाट आक्रान्त भएका बेला सरकारले २ वटा अध्यादेश ल्याएर अलोकतान्त्रिक र गैरजिम्मेवारी चरित्र प्रस्तुत गरेको टिप्पणी गरे । उनले भने, "दलविभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त गर्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित षड्यन्त्र थियो भन्ने कुरा स्पष्ट छ ।"
देउवाले लोकतन्त्रको रक्षाका लागि सरकारबाहिर रहेका राजनीतिक दल, संचार माध्यम, बुद्धिजीवी र समस्त नेपालीहरुलाई सजग र एकताबद्ध रहन अपिल समेत गरे ।
सरकारले सुकुम्बासीलाइ जाउलो पुर्याउने तत्कालिन दायीत्व विर्सेर सुकुम्बासी आयोग गठन गर्नु तर्कसंगत नभएको देउवाले बताए । राज्यबाट सहज राहत पाउनुपर्ने व्यक्तिले राहत पाउन नसकेको भन्दै उनले तत्काल बृहत्तर राहत प्याकेज निर्माण र घोषणा गर्न सरकारसँग माग गरे । उनले भने, "बेरोजगार, डेरामा बस्ने विद्यार्थी, कृषक, पत्रकार, मिडिया हाउस, पर्यटन ब्यवसायीदेखि साना ब्यापारी हुँदै उद्योगी ब्यवसायी लगायतलाई विभिन्न ढंगले राहत दिने बृहत्तर प्याकेज निर्माण र घोषणा यथाशिघ्र गर्न सरकारसँग माग गर्दछु ।"
स्वास्थ्य सामग्रि खरिदमा भएको अनियमितता र भ्रष्टाचार अत्यन्त गम्भिर र अक्षम्य रहेको भन्दै देउवाले दोषीहरुलाइ मदमुक्त गरेर अनुसन्धानमा सघाउन र कारवाही गर्न सरकारलाइ अनुरोध गरे ।
उनले सांसद अपहरणमा सरकारको संलग्नताको पनि कडा आलोचना गरे । "एक सांसदकोे अपहरण हुनु र त्यसमा सरकारको कुनै न कुनै संलग्नता हुनु दुर्भाग्यपूर्ण कार्य हो", देउवाले भने, "म यस घटनाको निन्दा गर्दै अपराधमा संलग्न सबैलाई कडा कारवाही गर्न माग गर्दछु ।"
देउवाले कोभिड १९ को नियन्त्रण र निर्मुल गर्न विवेकसम्मत तरिकाले काम गर्न सरकार असफल भएको आराेप लगाए । उनले भने, "सरकारले नागरिकलाइ आफू भएको अनुभुति गराउन सकेको छैन ।"
कोरोना परिक्षण अत्यन्त न्युन भएको उल्लेख गर्दै देउवाले कोरोना नियन्त्रणका लागि गर्नुपर्ने उचित ब्यवस्थापनमा सरकार चुकेको आरोप लगाए ।
आगामी बजेट कोरोनाबाट परेको प्रभावलाई सम्बोधन गर्ने गरी ल्याउन सरकारको ध्यानाकर्षण गराउँदै उनले भने, "आगामी बजेट कोरोना केन्द्रित हुनुपर्छ ।"